स्कुल बसको तीव्र गतिका कारण : बस थोरै, रुट धेरै र समय कम
टोलपडोस समाचारदाता
जनकपुरधाम, २० फागुन ।
दुईको मृत्यु र छजना घाइते हुनेगरी आइतबार बिहान जनकपुरधाममा भएको बस दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको छ । कानुनअनुसार अनुसन्धानले २५ दिनभित्र पूर्णता पाउनेछ । त्यसयता अनुसन्धानक्रममा प्रहरीको काम भनेको मिहिन तरिकाले दुर्घटनाका कारण र दोषी पत्ता लगाउने हुन्छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीको दुर्घटनामा घटनास्थलको वस्तुस्थिति र प्रत्यक्षदर्शीका भनाइका आधारमा सवारीचालकको गल्ती देखिएको बताए ।
‘सडकबीचको डिभाइडरमा बस ठोक्किदै पैदलयात्रुको ज्यान लिएको र घाइते बनाएको छ । विस्तारै गुडिरहेको बसले पैदलयात्रुलाई यसरी क्षति पुर्याउनेगरी दुर्घटना गराउन सक्दैन,’ प्रहरी नायब उपरीक्षक अवाले भने । प्रहरी नायब उपरीक्षक अवाको भनाइ प्रारम्भिक हो । अनुसन्धानक्रममा दुर्घटनाका अन्य कारण थपिँदै जानेछन् ।
आज दुर्घटना गराउने बस जनकपुरधाम–९ साकेतनगरस्थित एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको हो । नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयको बस विद्यार्थी ओसार्न अन्य रुटसँगै जनकपुर–जलेश्वर सडकमा पनि नियमित गुड्ने गर्छ । यस रुटमा जनकपुरधामका अरू निजी विद्यालयका बस पनि गुड्ने गर्छन् ।
अन्य दिनझैँ आज पनि तीव्र गतिमा हुँइकिएका बस असन्तुलित हुँदै डिभाइडरनजिकका पैदलयात्रुलाई ठक्कर दिएको छ । घटनास्थल पुगेका पत्रकार सुरेन्द्र यादवले बसको अधिक गतिले गर्दा नै बाटो बिराउन पुगेको बसले मानिसलाई किचेर घाइते बनाएको बताए ।
तीव्र गतिमा असन्तुलित हुँदा आजको दुर्घटना भएकोमा प्रहरी, पत्रकार र घटनाबारे जान्नबुझ्न खोजेकाहरूले संकलन गरेको तथ्य हो । यो तथ्यको थप विश्लेषण गरिरहेका पत्रकार यादवकै शब्दमा चालकको मस्तिष्कमा उर्लिरहने हतारो र चटारोको भावले नै घटना भएको हो ।
विद्यार्थी ओसारपसारका लागि जनकपुरधामका निजी विद्यालयले प्रयोग गर्ने बस गुड्ने रुट धेरै छन् । तर, ती विद्यालयमा बस सँख्या सीमित छ । एउटै बसलाई खास समयावधिभित्र धेरैपटक गुडाएर विद्यार्थी ओर्सादा चालकहरू दबाबमा रहने गर्छन् । जसले गर्दा सधैँभरि बसको गति तीव्र हुन्छ । आजको घटनाको अनुसन्धान यसै कोणबाट हुनुपर्ने जानकारहरू बताउँछन् ।
नेपाल प्रहरीका पूर्व डिआइजी केशव अधिकारीले निजी विद्यालयले विद्यार्थी सँख्याको तुलनामा आवश्यक बस प्रबन्धन नगर्दा र गुणस्तरीय सडक तथा परिपक्व चालक नराखीकनै निश्चित समयभित्र धेरैवटा रुटबाट विद्यार्थी ओसार्ने जिम्मेवारी चालकको काँधमा दिँदा तीव्र गति लगायतका कारण दुर्घटना बढेको बताए ।
यहाँका प्रायःजसो निजी विद्यालयसँग विद्यार्थी ओसारपसार गर्ने बस छन् । तर थोरै सँख्यामा । सहर वरपरका गाउँदेहातबाट विद्यार्थी ल्याउने र पुर्याउने गर्नुपर्छ । विद्यालय समयभित्रमै विद्यार्थी ल्याउनुपर्छ । विद्यालय सकिएपछि छिटोभन्दा छिटो घर पुर्याउनुपर्छ ।
अर्का सञ्चारकर्मी किसन साहले धेरैवटा कक्षा सञ्चालन गर्ने र थुप्रै विद्यार्थी सँख्या रहेको विद्यालयमा कम सँख्यामा बस भए पनि बिहान सिफ्टमा पढ्नेलाई दस बजे छाड्नुपर्ने र दस बजेबाट सुरु हुने सिफ्टमा पढ्नेलाई ल्याउनुपर्ने हुन्छ । त्यसका अतिरिक्त एउटा रुटबाट विद्यार्थी ल्याएर अर्को रुटमा पुग्नुपर्ने हुन्छ । यस्तोमा आहोरदाहोर गर्न चालकलाई हतार हुन्छ ।
‘सम्झिनुस्, बिहान दस बजे स्कुल बसहरू सहरबजारको बाटामा मात्र होइन, गल्लीकुच्चीमा समेत एकअर्कालाई उछिन्ने होडबाजी गरी अत्यधिक गतिमा गुड्छन् । आजअघि पनि यसै समयमा स्कुल बस बढी दुर्घटनामा परेका छन्,’ सञ्चारकर्मी साहले भने ।
निजी विद्यालयका एक सञ्चालकका अनुसार जनकपुरधाममा करिब ८० देखि ८५ वटा निजी विद्यालय छन् । ९० प्रतिशतभन्दा बढी विद्यालयसँग बस छ । सबै विद्यालयका बसको सँख्या पनि हाराहारी ८० देखि ८५ नै छ ।
ती विद्यालयहरूले विद्यार्थी ओसार्ने ठाउँमा महोत्तरी जिल्लाका मटिहानी, भिठ्ठामोड, जलेश्वर, पिपरा, ढेकहा, बदिया बन्चौरी, पडौल, बलबा, लोहारपट्टी नगरपालिका लगायत वरपरका कुनाकाप्चामा रहेका बस्ती र धनुषाको ढल्केवर, धनुषाधाम लगायत यी ठाउँनजिकका टोलमुहल्ला छन् । जसका लागि एउटै बसलाई स्कुल लाग्नुअघिको आधा घन्टाभित्र धेरैवटा रुटमा गुड्नुपर्ने हुन्छ । त्यसकै परिणाम स्कुल बस तीव्र गतिमा हुइँकिनु हो ।
यातायात व्यवस्था कार्यालयले यात्रुवाहक बसका लागि रुट निर्धारण गर्दै आए पनि स्कुल बसका लागि रुट निर्धारण गर्ने निकाय छैन । विद्यालय सञ्चालन अनुमति दिने तथा नियमन गर्ने निकाय स्थानीय तहले सरोकारभित्र बस प्रयोग गर्ने विद्यार्थी सँख्या र विद्यालयसँग उपलब्ध बस सँख्याको तारतम्य हेर्दैनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख एवम् प्रहरी निरीक्षक शेखर साहले केही दिनअघि जनकपुरधामको बेलामा भएको स्कुल बस दुर्घटनापछि बच्चा ओसार्ने बसको गतिमा विशेष रूपले निगरानी गर्न थालिएको बताए । उनले रुट निर्धारण गर्ने क्षेत्राधिकार ट्राफिक प्रहरी कार्यालयको नरहेको जानकारी दिए ।