सङ्कटमा सत्ता गठबन्धन, एमाले र रास्वपासँगै जसपाले दाहाल सरकार थेग्ने दाबी
टोलपडोस समाचारदाता
काठमाडौं, २१ फागुन ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) विधेयक पारित गराउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेट भएपछि मौजुदा सत्ता गठबन्धन भत्कने आकलन गरिँदैछ ।
दलीय सहमति नजुट्दा टिआरसी विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमै थन्किएको छ । विधेयक पारित गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको सहमतिपछि आज (सोमबार) विषयगत समितिको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसँग समेत टिआरसी विधेयकमा छलफल गरेका छन् ।
एमाले र रास्वपासँग सहमति भएपछि केही भाषागत परिवर्तन गरी समितिमा टिआरसी विधेयक पारित गर्नेगरी समिति बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका लागि टिआरसी विधेयक अनुकूलतामा पारित हुनुपर्ने चुनौती छ ।
सत्ता गठबन्धनका दुई मुख्य घटक नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको असन्तुष्टि तथा विग्रह गठबन्धन भत्कने स्थितिमा पुगेको स्रोतहरूले बताएका छन् । शान्तिप्रक्रियाको राजनीतिक पूर्णता र कानुनी निरूपणका लागि टिआरसी विधेयक महत्वपूर्ण भए पनि यस विषयमा प्रमुख प्रतिपक्षी एमालेको विशेष चासोले सत्ता गठबन्धन नै संकटमा परेको जानकारहरूको बुझाइ छ ।
राष्ट्रियसभा अध्यक्षका विषयमा समेत माओवादीले आफ्ना उम्मेदवार दिने अडान लिएपछि सत्ता गठबन्धनका काँग्रेसमा असन्तुष्टि बढेको थियो ।
‘एमाले अध्यक्ष ओली पार्टी महासचिव शंकर पोखरेललाई लिएर प्रधानमन्त्री निवास वालुवाटारमै पुगेर विधेयकका बारेमा मात्र कुरा गरेनन् होला । बैठकमा सत्तासमीकरणसहित प्याकेजमै कुरा भएको हुनुपर्छ,’ एक राजनीतिक विश्लेषकले टोलपडोसलाई भने ।
प्रधानमन्त्रीसँगको बैठकका लागि ओली आइतबार जनकपुरधाम आउने पूर्वनिर्धारित कार्यक्रम स्थगन गरेका थिए ।
प्रधानमन्त्री र ओलीबीच भएको भेटपछि माओवादीका कार्यकर्ताहरूले दाहालको पक्षमा एक सय ५५ भन्दा बढी सांसदको समर्थन रहेको दाबी गर्दै सोमबार मन्त्रिमण्डलसहित शक्ति बाँडफाँडको लिखित सहमति हुने दाबीसहितको सन्देश व्हाट्स एप समूहमा साझा गरिरहेका छन् ।
सो सन्देशमा उनीहरूले काँग्रेससँग गठबन्धन भत्किएको र नेकपा एमाले, रास्वपा र जसपाको समर्थन दाहाललाई रहेको बताइरहेका छन् ।
सत्ता गठबन्धन संकटमा परेको अनुमान गरिएका बेला परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो फिनल्यान्ड भ्रमण रोकेका छन् ।