सहरमा ध्वनि आतङ्क, जनकपुरधामलाई कसले बनायो अभद्र ?
टोलपडोस समाचारदाता
जनकपुरधाम, २१ फागुन ।
जनकपुरधाम आउने तयारीमा हुनुहुन्छ ? अझ एकरात बिताउनेगरी योजना बुनिरहनुभएको छ ? बन्दोबस्तीका अन्य सामानसँगै कपास पनि बोकेर आउनुहोला ।
बिहाबारीका संस्कार गरिरहँदा जनकपुरधामका सहरबजार र गल्लीमुहल्लामा हिजोआज चर्को ध्वनि आउनेगरी बजाइने विभिन्न स्थानीय ब्यान्डका प्रत्यक्ष र रेकर्डेड गीतसङ्गीतका कारण झ्यालढोका थुनेर पनि राहत पाउन छाडिएको छ । कपास कोचेर कान थुनेपछि मात्र अलिक सञ्चो अनुभव गर्न सकिन्छ ।
तर, यस्तो गर्न पनि तपाईँभित्र धैर्य चाहिन्छ । उज्यालो छिप्पिन लागेपछि अबेर राति र कहिलेकाहिँ त मध्यरातपछि ‘देवरा ढोरी चटना बा’ जस्ता गीत चर्को स्वरमा सुन्नुपर्ने बाध्यतामा पर्नुहुन्छ ।
आँटेरै बाटामा निस्किन सकिए भने सजिएका रथमा धपक्क बलेको बत्तीसँगै मन्दिर दर्शन पुगेका दुलहासहितको भिडमा बढीजसो अश्लील र द्विअर्थी भोजपुरी गीतमा सबै उमेरका महिलाको नृत्य हेर्न सकिन्छ । भोलिपल्ट कम्मर भाँच्ने अवसर नजुर्ला भन्ने ध्याउन्नका साथ नृत्य गरिरहेका महिलाका नृत्य आकर्षक नलागे पनि बाटोभरि धेरैवटा बिसौनी बनाएर भइरहेका प्रदर्शन तपाईँको इच्छाले रोकिँदैनन् ।
बिहा गर्नअघि आशीर्वाद थाप्न जाने ठाउँ हो जानकी मन्दिर । यो जनकपुरधामको बीच बजारमा छ । मटकोरलगायतका विधिविधान गर्ने धार्मिक पोखरीहरू पनि यस ठाउँ वरपर छन् । बाटा नै छेक्नेगरी दुलहारथ पनि यसै क्षेत्र भएर आउजाउ गर्छन् । त्यसैले बजार वरपरका घर, होटल आदि आवासीय क्षेत्रमा बस्दावर्दा चर्को स्वर सुन्नैपर्छ ।
‘साँझदेखि मध्यरातसम्म बाटो पार गर्न कम्ती गारो छैन । एक किलोमिटरको दुरीमा एकैपटक दर्जनौ दुलहारथ छिचोलेर जानुपर्छ । त्यो पनि कानलाई सास्ती दिँदै । रमिता त हेर्नलायक नै हुन्छ,’ बर्दिवासकी सानुमाया श्रेष्ठले भनिन् ।
श्रेष्ठले बजार क्षेत्रमै रहेका सरकारी तथा निजी अस्पतालअगाडि समेत दुलहारथ रोकिएर नृत्य एवम् गीतसंगीतका कार्यक्रम हुनेगरेका र यसलाई रोक्न कोही अघि नसर्ने अनौठो अभ्यास जनकपुरधाममा देखिएको बताइन् ।
‘धन्न पेट्रोलडिजेलले चल्ने इन्जिनले गुडाएकाले होला, प्रहरीले सुरक्षा र पहरा दिएर दुलहारथ नतानिदिएको मात्र हो । होइन भने जहीँजता ध्वनि प्रदूषण हुनेगरी बिहाभिड बेरोकटोक अघि बढ्दैगर्छ,’ उनले भनिन् ।
चिकित्सकहरूका अनुसार विवाह आदि अवसरमा बज्ने बाजाका चर्को ध्वनिका कारण विभिन्न किसिमका शारीरिक तथा मनोवैज्ञानिक लगायत दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुने गरेका छन् । मुटुरोग विशेषज्ञ डा.रोहित मुरारकाले चर्को ध्वनिका कारण कान सुन्ने क्षमतामा ह्रास आउने, तनाव उत्पन्न हुने र यसकारण रक्तचाप तथा मुटुको चाल बढ्ने र अन्ततः हृदयघात नै हुने अवस्था आउन सक्ने बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले डिजेबाजालगायत ध्वनि प्रदूषण हुने व्यवहार रोक्न पटकपटक निर्णय भएको तर यसको कार्यान्वयन गर्न स्थानीय प्रशासन गम्भीर नरहेको आरोप लगाए । ‘निर्णय भएको छ तर प्रशासनले रोक लगाउँदैन,’ उनले भने ।
मेयर साहको बुझाइमा ध्वनि प्रदूषण गर्न नहुने कानुनी प्रावधानबारे जनचेतना वृद्धि नभएकाले पनि यस्तो समस्या आएको हो । उनले प्रश्न गरे, ‘हाम्रो बौद्धिकता कहाँ हरायो ?’
मेयर साहले यो प्रश्न गरिरहँदा स्थानीय युवा बलराम साहले भने फरक जिज्ञासा राखे । उनले स्थानीय सरकार तथा प्रहरीप्रशासन नै नभएको छनक दिने यस्तो अवस्था कहालीलाग्दो भएको टिप्पणी गर्दै जनकपुरधामलाई अभद्र बनाउने तत्वको खोजी हुनुपर्ने धारणा व्यक्त गरे ।
धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले डिजेलगायत ध्वनि प्रदूषण रोक्न पटकपटक निर्णय भए पनि स्थानीय सामाजिक संस्कारका कारण कार्यान्वयन गर्न कठिन रहेको बताए । तर शून्यमा झार्न नसकिए पनि क्रमिक रूपमा यस्तो अवस्थालाई निरुत्साहित गर्न थालिएको उनले दाबी गरे ।
केही समयअघि सरस्वती पूजाका दिन भने चर्को स्वरमा गीतसंगीत बजाउने र अश्लील हर्कत गर्ने वर्षौँदेखिको गलत अभ्यासलाई यसपालि प्रहरीले छेकबार लगाउन सफल भएको थियो ।