ढिलागरी उपचारमा आउँदा दाँतको उपचार महँगो लाग्छ : डा.महासेठ
दाँत तथा मुख रोगबाट प्रभावित भएकाहरूका बीचमा खासै चर्चित नाउँ हो डा. मिसा महासेठ । डेन्टल सर्जन डा.महासेठले चार वर्षयता विभिन्न क्षेत्र, पेसा, उमेर तथा लैङ्गिक समूहका व्यक्तिहरूको दाँत तथा मुखसम्बन्धी रोगको उपचार गर्दैआएकी छिन् । सात समुद्रपार अस्ट्रेलियाका बिरामीदेखि लिएर स्वदेशकै चर्चित कलाकार विपिन कार्की ‘भस्मे डन’ सम्मको उपचार गरेकी डा.महासेठले असहाय, गरीबगुरुवा तथा श्रमिक मजदुरका लागि निःशुल्क दन्तउपचार शिविरसमेत सञ्चालन गर्दैआएकी छिन् । सुदूर तथा विकट क्षेत्रमा समेत पुगेर दाँतसम्बन्धी उपचार, खोजपड्ताल तथा चेतना अभिवृद्धिजस्ता काममा संलग्न रहँदैआएकी डा.महासेठ हिजोआज जनकपुरधामको तपसीचोकमा तराई डेन्टल क्लिनिक सञ्चालन गरिरहेकी छिन् । टोलपडोस डटकमले दाँत तथा मुखसम्बन्धी रोगका विषयमा केन्द्रित भएर उनीसँग कुराकानी गरेको छ । प्रस्तुत छ सोही कुराकानीको संक्षेप ।
डाक्साब, दाँत तथा मुख रोगलाई मानिसले सामान्यतया कसरी लिन्छन् ?
दाँत तथा मुखका रोगलाई लिएर तराईमधेशमा जानकारी अभाव छ । यस विषयमा चेतनाको कमी भन्दा पनि हुन्छ । अन्य रोगको दाँजोमा यससम्बन्धी रोगप्रति गम्भीरता देखाउने प्रवृत्ति छैन । जबसम्म दाँतको दुखाइ असह्य हुँदैन वा जटिलता निम्त्याउँदैन तबसम्म डाक्टरकहाँ बिरामी आउँदैनन् । रोग बल्झिएपछि चिकित्सककहाँ आउँदा दाँतको उपचार महँगो भएको बिरामीले ठान्छन् । साँच्चिकै भन्दा दाँतसम्बन्धी रोगको उपचार महँगो हुँदैन । हो, हेलचेक्रयाइँ गर्दा यससम्बन्धी रोगलाई बिसेक गर्न बढी समय लाग्ने र कठिन प्रक्रिया अपनाउनुपर्दा उपचार महँगो लाग्न थाल्छ । तर, सुरुवाती चरणमै दाँतसम्बन्धी रोगको उपचार गरियो भने रोग बल्झिने खतरा पनि हुँदैन र उपचार पनि सस्तोमा हुन्छ ।
बिरामीमा हिजोआज दाँतसम्बन्धी कस्ताकस्ता रोगहरू देखिन्छन् ?
दाँत किराले खाने हुन्छ । गिजाका समस्या हुन्छन् । ब्रस गर्दाखेरि रगत आउने हुन्छ । सास र मुख गनाउने, दाँत दुख्ने समस्या आदि पनि देखिन्छन् । दाँतको बनाबटको कुरा गर्दा माथ्लो भाग भनेको क्राउन र तल्लो भाग भनेको जरा हुन् । जराभित्र नसा हुन्छ । किराले माथिमाथि दाँत खाएमा दुख्दैन । तर नसामा छोयो भने दुख्छ । त्यतिबेला जरादेखिको उपचार गराउनुपर्ने हुन्छ । जसलाई रुट कनाल ट्रिटमेन्ट भनिन्छ ।
यसका अतिरिक्त बेरङ्गी दाँत, नमिलेका दाँत, मुखमा घाउखटिरा, मुखमा विभिन्न रङ्ग तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्नुका साथै यस्ता सामान्य रोगबाट उत्पन्न जटिलताहरू गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास, ट्युमर र क्यान्सर भएको, थोते भएको भेटिन्छन् ।
दाँतलाई लिएर कस्ता खालका हेलचेक्रयाइँ बढीजसो देखिन्छन् ?
दाँत माझ्दै न माँझिदिनेहरू हुन्छन् । माझ्नेहरूलाई पनि दाँत सफा गर्ने सही तरिका थाहा हुँदैन । दतिमनको प्रयोग गरेर दाँत माझ्ने पनि उतिकै हुन्छन् । कतिपय बिरामीसँग कुरा गर्दा उनीहरूले आफूले दिनमा पाँचपटकसम्म दाँत माझेको बताउँछन् । तर, उपयुक्त तरिकाबाट भने दाँत सफा गर्ने विषयमा उनीहरू जानकार रहँदैनन् । दाँत माझे पनि धेरैजसोले जिब्रो सफा गर्दैनन् । हामी जब केही कुरा खान्छौँ, गिजा र दाँतमा अड्किन्छ । त्यसबेला सिकीको प्रयोग गछौँ । वास्तवमा त्यो गर्नुहँदैन । यस्तोमा डेन्टल फल्स गर्नुपर्छ । डेन्टल फल्स भनेको सङ्क्रमणरहित सिंथेटिक धागोलाई दाँतमा अल्झाएर सही तरिकाले दाँतभित्रका फोहोर निकाल्ने तरिका हो ।
धेरैजसोले गलत र भ्रामक धारणा बनाएर दाँत सफा गराउन चाहँदैनन् । दाँत सफा गराउँदा दाँत नै झर्ने वा खिइने भन्ने जस्तो बुझाइ केहीको हुन्छ । चिकित्सकीय दृष्टिले यस कुरामा तार्किकता छैन । बरु दाँत निश्चित वा निर्धारित समयको अन्तरालमा दाँत सफा नगराउँदा दात खिइने र झर्ने समस्या हुनसक्छ । एउटा कुरा के बुझ्नुपर्छ भने हामीले दाँत सफा गर्दा दाँतलाई घोट्दैनौं, गिजाभित्रका फोहोर सफा गर्छौँ । यसले दाँत र गिजालाई स्वस्थ बनाउँछ । बहुसँख्यक सबरामीहरू पाँच वर्षमा एकपटक दाँत सफा गराउन आउँछन् । यो राम्रो होइन । छ महिनादेखि एक वर्षमा कम्तीमा एकपटक दाँत सफा गराउनुपर्छ ।
दाँतलाई किराले खाएपछि खाल्डो हुन्छ । ती खाल्डामा खाना अड्किन्छ । त्यसो हुँदासम्म बिरामी आउँदैनन् । जब असाध्यै दुख्न थाल्छ अनि चिकित्सकको प्रेसक्रिप्सनबिना सोझै औषधिविक्रेताकहाँ गएर दुखाइको ओखती र एन्टिबायोटिक लिएर खान्छन् । त्यसले पनि समस्या समाधान भएन भने हामीकहाँ आउँछन् ।
दन्तसम्बन्धी समस्याबारे हिजो र आजको बुझाइमा के भिन्नता छ ?
हेर्नुस्, म गत चार वर्षदेखि प्रयाक्टिस गर्दैछु । चार वर्षयता दाँत तथा मुखसम्बन्धी रोगलाई लिएर दिनानुदिन चेतना बढ्दै गएको मेरो अनुभव छ । म महिनामा चारदेखि छवटा शिविर गर्छु । जसमा उपचारात्मक, खोजपड्ताल र जनचेतनासँग सम्बन्धित शिविर छन् । शिविर गरिरहँदा दाँत तथा मुखसम्बन्धी रोगका बारेमा समुदायभित्र गम्भीरता र संवेदनशीलता बढेको पाएकी छु ।
दाँत तथा मुखसम्बन्धी रोगको उपचार जनकपुरधाममा सम्भव छैन भन्ने धारणा पनि छ । के यो स्थानीय चिकित्सकप्रतिको अविश्वास हो ?
यसलाई अविश्वास नभनौंँ । रोग बल्झिएपछि मात्र चिकित्सककहाँ बिरामी आउँछन् भन्ने कुरा अघि पनि भनेकी छु । जटिल अवस्थामा बिरामी आत्तिन्छन् । उनको बुझाइमा जनकपुरमै उपचार गराउँदा जोखिम हुन्छ भन्ने हो । त्यो जोखिम बिरामीले मोल्न चाहँदैनन् । तर, दाँत तथा मुखसम्बन्धी रोगको धेरै राम्रो उपचार जनकपुरमै सम्भव छ । यसका लागि दक्ष जनशक्ति, आवश्यक उपकरण र औषधि यहीँ उपलब्ध छन् । हो बिरामीलाई जनकपुरमै उपचार गराउन उनीहरूको आत्मविश्वासमा वृद्धि गराउनु आवश्यक छ ।
मकहाँ सीमावर्ती भारतीय सहर सीतामढी र सुरसन्डका बिरामी पनि आउँछन् । सिरहा, महोत्तरीलगायत वरपरका जिल्लाबाट पनि रोगी आउँछन् । डेन्टलमा जम्मा आठवटा विभाग छन् । ती जम्मै विभागसम्बन्धी काम जनकपुरमा हुन्छन् । अर्थात् जनकपुरमा डेन्टलसम्बन्धी सेवा विस्तार भएको छ । डेन्टलसम्बन्धी काम टिम वर्क हो । टिमलाई चाहिने चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक आदि सबै जनशक्ति यहाँ छन् । औजारउपकरण छन् । परीक्षण तथा औषधिमूलो उपलब्ध छन् । सडक दुर्घटनामा परेर मुखको हड्डी मर्केका र भाँच्चिएकाहरूको सफल उपचार समेत हामीले गरिरहेका छौँ ।
अन्त्यमा एउटै वाक्यमा भन्नुपर्दा दाँतप्रति किन सचेत हुनुपर्छ ?
दाँतको दुखाइ, असहजता र कुरूपता कम गर्दै स्वस्थ जीवनयापनका लागि दाँतप्रति सचेत हुनुपर्छ ।