चुरिया खन्न प्रयोग भएका स्काभेटर र टिपर नियन्त्रणमा
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ फागुन ।
सिरहाको चोहर्बामा चुरेवनबाट ढुङ्गा, गिट्टी र वालुवाको अवैध उत्खनन्मा प्रयोग गरिएका एक जेसिभी र एक टिपर नियन्त्रणमा लिइएको छ ।
जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ३ मा पर्ने चोहर्वाको चुरेवन त्यहाँस्थित सैनिक क्याम्प पछाडिको भूभाग हो ।
सबडिभिजन वन कार्यालय चोहर्वाको गश्ती टोलीले चुरेवन क्षेत्रमा उत्खनन् गरिरहेकै बेला ती साधनलाई नियन्त्रणमा लिइएको वनअधिकृत मनोजकुमार कर्णले बताए । जेसिभी र टिपरका चालहरू भने फरार भएका छन् । उनीहरूको खोजीका लागि नेपाल प्रहरीको सहयोग लिइएको डिभिजन वन कार्यालय सिरहाका डिभिजनल वन अधिकृत सुजितकुमार झाले जानकारी दिए ।
सबडिभिजन वन कार्यालय चोहर्वाका प्रमुखसमेत रहेका वनअधिकृत कर्णले चुरेवन क्षेत्रमा उत्खनन् रोक्न निगरानी थप तीव्र बनाइएको छ । तीन महिनायता कडा निगरानीपछि उत्खनन्कै क्रममा जेसिभी र टिपर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय सिरहाका डिभिजनल वन अधिकृत सुजितकुमार झाले बताए ।
पछिल्लो कारबाहीका लागि वन अधिकृत कर्णको कमान्डमा खटिएको वनगश्ती टोलीमा वनरक्षकद्वय रामकुमार सिंह र रामबिहारी यादव, एएफजी जमदारहरू दुःखी ठाकुर, बद्रीराम, धर्मदेव यादव, देवकुमार साह र रामऔतार ठाकुर तथा हलुका सवारी चालक मुकेशकुमार मण्डललगायत थिए ।
स्थानीयका विरोधका बाबजुद टोलेगुन्डाका मिलेमतोमा चुरेदोहकहरूले कहिले हाकाहाकी त कहिले लुकीछिपी यस क्षेत्रमा गहिरा खाल्डा खनी ढुङ्गा, गिट्टी र वालुवा उत्खनन् गर्दैआएका छन् ।
डिभिजन वन कार्यालयले लहान नगरपालिका–१५ स्थित खुट्टीखोला, धनगढीमाई नगरपालिका–१२ स्थित सरेखोला, कर्जन्हा नगरपालिका–स्थित कमला खोला र पछिल्लोपटक नरहा गाउँपालिका–स्थित चुरेवन क्षेत्रमा ढुङ्गा, गिट्टी र वालुवाको अवैध उत्खनन् गरिरहेका पाँच एक्जाभेटर, १० ट्रयाक्टर, एक टिपर, एक भ्यान र १७ साइकल नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।