जनकपुरधामका फुटपाथबाट अवैध असुलि, जान्छ रकम कहाँ ?

२०८० फाल्गुन २३, बुधबार १३:२६
जनकपुरधामको जानकी मन्दिर क्षेत्रमा रहेको अङ्गराज सर(अरगजा पोखरी) को पूर्वी डिलमा सडकपेटी अतिक्रमण गरी सञ्चालनमा रहेका ठेला पसल । तस्बिर : अनिल

अनिलकुमार कर्ण/टोलपडोस
जनकपुरधाम, २३ फागुन ।
साँस्कृतिक विरासत र वैभवसँग जोडिएका थुप्रा ठाउँ छन् जनकपुरधाममा । तिनैमध्ये एक हो गंगासागरको पूर्वउत्तरी डिलमा रहेको नगर डिहबार । सर्वशक्तिमान् लोकदेवताका रूपमा पूजित नगर डिहबारको यो क्षेत्र अहिले साना खुद्रा व्यापारीहरूको अतिक्रमणमा परेको छ ।

ससाना टहरा र कठघरा बनाई वा खाट तथा भुइँ नै कब्जा गरेर यस ठाउँमा व्यापार थालिएको वर्षौँ भएको छ । गंगासागरको गुणगरिमा तथा मन्दिरको पूजा परम्परा बाधित गर्ने र सहरको धार्मिक तथा अध्यात्मिक पृष्ठभूमिको तस्बिर झल्काउने यस क्षेलाई खाली गराउने ल्याकत कसैले देखाउन सकेका छैनन् ।

यहाँको फुटपाथ व्यापारले गंगासागर र नगर डिहबार दुवै ओझेलमा परेका छन् । अतिक्रमणको बाक्लिँदो जालोले पर्यटकको जनकपुर बसाइ लम्ब्याउने गंगाआरतीको रौनक पसारिन दिएको छैन । ‘तर, दिनदिनै व्यापारीहरूले पसलका लागि हिँडडुल गर्ने साँघुरा बाटा पनि बन्द हुनेगरी बिक्रीका सरसामान फैलाउन थालेका छन्,’ स्थानीय श्याम साहले भने ।

जनकपुरधाम उपमहानगरपालिकाले एक करोडभन्दा बढी रकम खर्च गरेर यस ठाउँमा हेरिटेज वाक निर्माण गरेको छ । उपमहानगरपालिकाका तत्कालीन मेयर लालकिशोर साहका पालामा शिव मन्दिरबाट दक्षिण हनुमान टाकिज र गंगासागरको पूर्वी डिलबाट जनकचोकसम्म बनाइएको हेरिटेज वाक ‘खिस्सापिहानी’ मा समेत नअटाउनेगरी खुद्रा व्यापारीको बन्धकमा परिसकेको छ ।

तीन दशकअघि जनक मन्दिर वरपर कठघरामा व्यापार गर्नेलाई वृषेशचन्द्र लाल मेयर हुँदा राममन्दिर छेउमा सारिएको थियो । राममन्दिरको पर्खालसँग रहेका ती टहरे पसलका कारण मन्दिर नै नदेखिने समस्या उत्पन्न भएपछि छिटपुट व्यापारीहरूले जनक मन्दिर हुँदै गंगासागर जाने बाटोमा पसल सारे । अहिले यो ठाउँमा पसलैपसल छन् ।

कुनै बेला गंगासागरमा जान डिलको धर्मशाला हुँदै मूलबाटो भनेकै शिव मन्दिरको पछाडिबाट थियो । गंगासागरमा वैवाहिक लगायतका विधिसंस्कारमा धार्मिक तथा परम्परागत कृत्य गर्न जाने अर्को बाटो त्यसभन्दा अलिक दक्षिणमा रहेको डिहवार स्थानबाट थियो । हिजोआज गंगासागरसम्म पुग्ने मूल बाटोमा एकजना पनि हिँड्न नसक्नेगरी दुवैतिर टहरा छन् । नगर डिहबार नजिकको अर्को बाटो भएर पोखरी डिलमा पुग्न भुइँमा पसारिएका सयौँ पसल छिचोल्नुपर्छ ।

धर्मशालाको ठिक सामुन्ने पश्चिमपट्टि वृक्षरोपण गर्न बनाइएको संरचनाका दुवैतिर टहरे पसल छन् । पसलले छोपिएको यो भागमा व्यापारीले सागपात र तरकारी उब्जाइरहेका छन् ।

यो ठाउँमा हेरिटेज वाक निर्माणका बेला चारैतिर गिट्टीबालुवा राखेर खुद्रा व्यापार बन्द गराइएको थियो । निर्माण भएपछि हेरिटेज वाक क्षेत्र केही समयसम्म खाली रह्यो । तर, स्थानीय निर्वाचनको एक महिना अवधिमा पुनः अतिक्रमित भयो ।

स्थानीय रामचन्द्र मण्डलका अनुसार मेयर लालकिशोर हुँदा कडिकडाउ थियो । हेरिटेज वाकमा पसल थाप्न कसैले आँट गरेनन् । तर उनको कार्यकालको अन्त्यतिर व्यापारीले फेरि टहरा ठड्याए । कसैले वास्ता गरेनन् । अझ यी व्यापारीको सिको गरेर यस ठाउँका निजी सटरमा रहेका व्यापारीले पनि सडक नै ढाक्नेगरी पसलका सरसामान फिजाएर बेच्न थाले ।

जनकपुरधाम उपमहानगरपालिकाका कर अधिकृत परमेश्वर झाले स्थानीय निर्वाचनको मौका छोपेर भएको पुनःअतिक्रमण हटाउन पटकपटक सूचना दिइएको बताए । उनले गोपाल धर्मशाला परिसरको जग्गा लिजमा लिएर विकल्प दिनेगरी हेटिरेज वाक खाली गराउने प्रयास भइरहेको जानकारी दिए ।

यो वैकल्पिक स्थान धर्मशालाको पश्चिमदक्षिणमा उपमहानगरको अतिथिगृहको उत्तरपट्टि छ । यहाँ दीर्घकालमा मिथिला भोजनका परिकार बिक्रीविरण गर्ने स्टल राख्नेगरी बजार विकसित गर्ने उपमहानगरपालिकाको योजना छ ।

उपमहानगरपालिकाले विकल्प दिए पनि हेरिटेज वाक अतिक्रमण गर्नेहरूमा पसल सार्ने सुरसार देखिँदैन । करिब ८० प्रतिशत भारतीय नागरिक व्यापारी रहेका तिनीहरूले खाली गराउन आउने नगरप्रहरीसँगै भिडन्त गर्नेगरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा नगरक्षेत्रका लागि मेलाबजार ठेक्का बन्दोबस्त नगरेकाले यहाँका व्यापारीबाट बहाल बिटौरी शुल्क समेत लिन पाएको छैन । ५० लाखको न्यूनतम मूल्य राखी नगरक्षेत्रका लागि मेलाबजार ठेक्का लगाउन खोजेको उपमहानगरपालिका कार्यालयले सबै फुटपाथ कब्जा हुने आशङ्कामा यस्तो ठेक्का लगाउनबाट पछि हटेको थियो ।

हेरिटेज वाकका व्यापारी भन्छन्, ‘हामीले व्यापार गरेबापत ठेकेदारलाई दैनिक रकम बुझाउँछौँ ।’ यस्तो रकम दैनिक पाँच सयदेखि हजार रुपैयाँसम्म प्रतिपसल लिने गरिएको छ । तर उपमहानगरपालिका कार्यालयले मेलाबजार ठेक्का नै नलागेकाले रकम उठाउने कुरालाई अस्वीकार गर्दैआएको छ ।

‘ती व्यापारीलाई सुरक्षा दिने निहुँमा टोलेगुन्डाहरूले पैसा उठाएका होलान् । तर, व्यापारी निकै बाठा छन्, ठेक्का नलागेको थाहा हुँदा पनि बिनासित्ति कसैलाई पैसा दिने कुरा नै आउँदैन,’ जनकपुरधाम उपमहानगरका कर अधिकृत झाले भने ।

जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथबाहेक मेला, पूर्णिमा र पर्वतिहारमा मात्र सञ्चालन हुनेगरी नगरक्षेत्रमा मेलाबजार ठेक्का लगाउने आर्थिक ऐनमै व्यवस्था गरेको छ । ऐनमा पसलका प्रकृति र दिन (मेला तथा पूर्णिमा, पेठिया र दैनिक) का आधारमा बहारबिटौरी शुल्क निर्धारण गरेको छ । तर, यस आर्थिक वर्षमा ठेक्का नलागेकाले शुल्क उठाइएको छैन ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले चालू आर्थिक वर्षमा रामजानकी पेठिया बजार तथा माछाबजारको ठेक्का मात्र लागेको बताए । उनले नगरक्षेत्रका अन्य ठाउँका कुनै पनि फुटपाथ पसलबाट पैसा नउठाइएको दाबी गरे । तर, फुटपाथका व्यापारीहरूले भने आफूहरूले दैनिक रकम तिर्नेगरेको बताए । जनकपुर प्रादेशिक अस्पतालअगाडिका एक फुटपाथ पसलेले भने, ‘मेरो पसल सानो छ । त्यसैले दैनिक पचास रुपैयाँ दिन्छु । साँझ ४ बजे ठेकेदार आउँछन् र पैसा लान्छन् ।’

फुटपाथ पसलेबाट पैसा लिनेले रसिद दिँदैनन् । अन्य सहरमा फुटपाथमा व्यापार गर्दा नगरप्रहरीले सामान जफ्त गर्ने सुनेकादेखेका व्यापारीले रसिद माग्ने साहस पनि गर्दैनन् ।

रामजानकी पेठिया बजार तथा माछाबजारको ठेक्का लिएकाले भने जनकपुरधाम–६ मा रहेको सो बजार वरपरका सडकमा लाग्ने ठेलागाडासँग भने दैनिक रकम लिँदैआएका छन् ।

फुटपाथ अतिक्रमण गर्न सटरका व्यापारीदेखि साना घुम्ती पसलेहरू उद्यत छन् । तर, सबैभन्दा बिजोक जानकी मन्दिर छेउछाउ र मुरलीचोकबाट एयरपोर्टसम्म जाने बाटोमा देखिन्छन् । मुरलीचोकबाट एयरपोर्टसम्म जाने बाटोमा मेयर साहको घर छ । जानकी मन्दिर क्षेत्र जनकपुरको मुख्य ठाउँ हो ।

जानकी मन्दिरको उत्तरीद्वारबाट देवीचोक जाने बाटो र रघुपति मिष्ठान भण्डारबाट प्रादेशिक अस्पताल जाने अङ्गराज सर(अरगजा पोखरी) सँगका सडक र पेटी दुवै च्यापेर लहरै ठेलागाडा लगाइएका हुन्छन् । ती ठेलागाडाका व्यापारीले जानकी मन्दिरका नाममा ठेकेदारलाई दैनिक पैसा बुझाउँछन् ।

अरगजा पोखरीमा मात्र होइन रघुपति मिष्ठानदेखि जानकी मन्दिरको पूर्वी गेटसम्म आउने देब्रेदाहिने पेटी र अझ विवाहमण्डपको पेटीमा समेत खुद्रापसल थापिन्छन् ।

चारैतिरबाट सडकपेटी खुद्रा व्यापारीका कब्जामा छन् । सडकको अलिक खाली ठाउँमा अटोरिक्साको हालीमुहाली छ । ‘पैदलयात्रुसँग त बीच सडकमा हिँड्नुको विकल्प छैन,’ जनकपुरधाम–८ का सञ्जीवकुमार यादवले भने ।

जनकपुरधामका मेयर साहले जानकी मन्दिर वरपरका ठाउँ जानकी मन्दिरका महन्थले नै ठेक्का लगाउने चलन रहेको बताए । उनले उपमहानगरको स्वामित्वका ठाउँमा कुन कानुनबाट जानकी मन्दिरले ठेक्का लगाउनेबारे भनेनन् ।

जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले मन्दिरअगाडिको अलिक भागमा फुलमाला र टिकासिन्दुर बेच्न केही व्यक्तिलाई ठाउँ बन्दोबस्त गरिए पनि अन्यत्र आफूहरूले ठेक्का नलगाएको बताए । उनले भने, ‘मन्दिर वरपरका भागबाट कसले र कुन नियतले पैसा उठाउँछन् भन्नेबारे खोजीनीति हुनुपर्छ ।’

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले पैदलयात्रुलाई असुविधा हुनेगरी अनाधिकृत रूपले बाटा छेक्ने पसल खाली गराउन आफूले प्रहरी तथा ट्राफिक प्रहरीलाई निर्देशन दिएको बताए । उनले यस विषयमा जनकपुरधाम उपमहानगरपालिका र प्रहरीको संयुक्त अभियान नै आवश्यक रहेको पनि औंल्याए ।

जनकपुरधामको शिवचोकस्थित हेरिटेज वाक अतिक्रमण गरी सञ्चालनमा रहेका टहरे पसल । तस्बिर : सुरेन्द्रकुमार यादव

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH