नवनियुक्त मन्त्रीहरूले लिए शपथ

२०८० फाल्गुन २३, बुधबार १८:४४

काठमाडौं, २३ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । यो शपथग्रहणसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् थप एक चरण विस्तार भएको छ ।

काँग्रेससहितको गठबन्धन भत्केर एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीसँग सत्ता सहकार्य गर्ने समझदारी भएसँगै गत सोमबार तीनजनाले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । प्रधानमन्त्री प्रचण्डले बुधबार १६ जना मन्त्री थप गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।

एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी मन्त्री बन्ने गरी कार्यविभाजनसहित शपथ लिएका छन् ।

पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी पाएका छन् । गिरीले यसअघि नै शपथ लिइसकेका छन् ।
माओवादीबाट अर्थमन्त्रीका रूपमा वर्षमान पुनले शपथ लिएका छन् । नारायणकाजी श्रेष्ठलाई उपप्रधान एवम् परराष्ट्र, शक्ति बस्नेत ऊर्जा तथा जलस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, बलराम अधिकारी भूमि मन्त्री बनेका छन् ।

यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्रीका रूपमा शपथ लिएका छन् । यस पार्टीका डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री भएका छन् ।

नेकपा समाजवादी (एकीकृत) बाट भानुभक्त जोशी र धनबहादुर बुढाले क्रमशः संघीय मामिला तथा सामान्य प्रशासन तथा सहरी विकास मन्त्रीको शपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH