खुर नमिलेका गोरुको नसुनिएको क्रन्दन, ‘मेरो खुट्टा ठिक गर्ने कोही छैन’

२०८० फाल्गुन २३, बुधबार २०:४२

टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ फागुन ।
खुर नमिलेकाले अत्यधिक कष्टपूर्ण अवस्थामा रहेका एउटा छाडा गोरु जनकपुरधाममा उद्धारको पर्खाइमा छ ।

जनकपुरधामको प्रादेशिक अस्पतालदेखि जानकीचोकमा विचरण गर्ने गोरुको खुरमा कम्तीमा तीन महिनायता समस्या छ ।
खुरमा समस्या आएपछि हिँड्न कठिन अवस्थाका गोरुका विषयमा विभिन्न निकायमा जानकारी गराउँदा पनि उपचार नभएको प्रादेशिक अस्पताल छेउछाउका बासिन्दाले बताए ।

‘गोरु झट्केर हिँड्छ । खानेकुरा खोजी गर्न सधैँ अस्पताल अगाडि धेरै नै असजिलो गरी आउनेगर्छ,’ स्थानीय राजाबाबु रायले भने, ‘गोरुलाई देख्ता मन दुख्छ । धेरैलाई भनेँ तर कोही पनि उपचार गराउन अघि सरेनन् ।

केही दिनअघि गौरक्षक भनेर दाबी गर्ने एक व्यक्तिलाई गोरुका बारेमा भनेको र उनले चिकित्सकसँग सल्लाह गर्ने बताए पनि सम्पर्कमा नआएको उनले गुनासो गरे ।

सबैतिरबाट बेवास्ता स्थानीयले गोरुको टाउकामा ‘मेरो खुट्टालाई ठिक गर्ने कोही छैन’ भन्ने लेखेर झुन्ड्याएका छन् ।
गोरुका सो अवस्थालाई हुप असामान्य भएको भनिन्छ । खुर बढेमा, खिइएमा वा घस्रिएमा यस्तो अवस्था आउँछ ।

गाईगोरु व्यवस्थित गर्न जनकपुरधाम उपमहानगरपालिकाले गौशाला सञ्चालन गरेको छ । गौशालामा गाईवस्तुको उपचारका लागि प्राविधिकसमेतको व्यवस्था छ । स्थानीय तहको कार्यक्षेत्रभित्र भेटेनरी तथा पशुसेवाका काम समेत पर्दछ । अझ पालिकाभित्र गाईगोरु व्यवस्थापनको जिम्मा स्थानीय तहकै छ ।

टोलपडोसले गोरुको अवस्थाबारे जानकारी गराएपछि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा.सञ्जीवकुमार ठाकुरले बिहीबार गोरुको खोजी गरी उपचार गरिने बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH