महाशिवरात्री : दिनको पूजापाठपछि रात्री जागरणमा श्रद्धालुभक्तजन (फोटो फिचर)
विपिन यादव/टोलपडोस
जनकपुरधाम, २५ फागुन ।
शिव प्राकट्य दिवसका अवसरमा उपासकहरू सँध्याकालबाट रात्रिजागरणमा छन् ।
आज (शुक्रबार) महाशिवरात्रीका दिन व्रत, उपवास र मन्त्रजाप तथा स्तुतिगानका साथ भगवान् शिवको पूजापाठ गरेका श्रद्धालुभक्तजनहरू संहार शक्ति र तमोगुणका अधिष्ठाता शंकरलाई रात्रि जागरणका माध्यमले अराधना गर्नेगर्छन् ।
आज बिहान र दिनभर त्रयोदशी तिथि भए पनि रातको समय चतुर्दशी भएकाले यसै दिनलाई महाशिवरात्रि मानिएको हो ।
हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा संहारकालको प्रतिनिधि तमोमयी रात्रीसँग भगवान् शंकरको स्वाभाविक स्नेह भएकाले वर्षको उपान्त्य महिना र अझ महिनाको उपान्त्य रात्रीमा जागरण परम्परा रहँदैआएको छ ।
महाशिवरात्रीको अवसरमा बिहानैदेखि जनकपुरधामका शिव मन्दिर, कपिलेश्वरनाथ महादेव, क्षीरेश्वरनाथ महादेव, हठिपुरस्थित मङलेश्वरनाथ महादेव, भुवनेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ, टुटेश्वरनाथलगायत शिवालयहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।
जटाधारी, नीलकण्ठ, भोलेबाबा, देवादीदेव महादेव, शंकर, कैलाशपतिलगायत विभिन्न नामले पुकारिने शिवको प्यारो दिन भनेर महाशिवरात्रिलाई मानिन्छ ।
पार्वतीसँग विवाह भएको दिनका रूपमा पनि लिइने यस दिनलाई शिवभक्तले विशेष महत्वका साथ मनाउने गरेका छन् ।
महाशिवरात्रीका अवसरमा भक्तजनको सुविधालाई ध्यानमा राख्दै शिव मन्दिरहरूमा स्थानीय संघसंस्था तथा प्रहरीप्रशासनद्वारा सुरक्षालगायत अन्य प्रबन्धन गरिएको छ ।