प्रीति पासवान नचाउँदा रुष्ट किरणले प्रभु साहलाई दिइन् ‘ब्यान्ड’ बजाउने धम्की
टोलपडोस समाचारदाता
जनकपुरधाम, २६ फागुन ।
रौतहटको मौलापुरमा शुक्रबार आयोजित विशेष साँस्कृतिक कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बोलाएर मानसम्मान र इज्जत नदिएको एक कलाकारले आरोप लगाएकी छिन् ।
कलाकार किरणकुमारी साहले शुक्रबार फेसबुक लाइभमा आएर साहले पटकपटक कार्यक्रममा बोलाएर आफूलाई बेइज्जत गरेको आरोप लगाएकी छिन् ।
३५ मिनेट २७ सेकेन्डको फेसबुक लाइभमा साहप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएकी उनले कसैको सौख पुरा नगरेकीले आफूलाई कार्यक्रममा हेला गरिएको बताइन् । उनले भनिन्, “साढेतीन चार घन्टा कार्यक्रममा बसेँ । अब पालो आउँछ तब पालो आउँछ भन्दै कुराइयो । आधाजति दर्शक गइसकेपछि म फर्केँ ।”
उनले साहको फोन कल आएकाले आफू मधानी महोत्सवको साँस्कृतिक कार्यक्रममा पुगेको तर त्यहाँ एक महिला कलाकारलाई मात्र मञ्चमा अवसर दिइएको भन्दै आफूले कोहीसँग केही नगरेकाले बेइज्जत गरिएको सुनाइन् ।
कलाकार किरणले साहजस्तै आफू पनि तेलीकी छोरी रहेको बताउँदै प्रभुसँग पंगा लिने र समर्थन गरेभन्दा बढी विरोध गर्ने बताइन् ।
उनले प्रभु साहको नाउँ नलिँदै भनिन्, ‘गर्लफ्रेन्डलाई नचाउनु छ भने बाहिरका कलाकार किन बोलाउँछौं ?’ उनले नेपालमा रासलीला रचाउनेहरूलाई मात्र अवसर दिने गरिएको प्रवृत्ति रहेको पनि बताइन् ।
मधानी महोत्सवमा बलिउड कलाकार गोविन्दासँग नाचगान र बोलचालका लागि आयोजकले कलाकार प्रीति पासवानलाई बढी महत्व दिएका थिए । मौलापुरमा आयोजित कार्यक्रमहरूमा पासवानको विशेष भूमिका रहँदैआएको छ ।