धनकौलमा काँग्रेस प्रवेश गर्नेको लाग्यो भिड

संजय सहनी
फागुन, २६ गते ।
मधेश प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिने प्रायः निश्चित भएकै बेला पनि सर्लाहीको धनकौलमा विभिन्न पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेहरूको लर्को लागेको छ ।
धनकौलमा आयोजित एक कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका पारस मिश्रको नेतृत्वमा उल्लेख्य सँख्यामा राजनीतिकर्मीहरू पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई सर्लाही काँग्रेसका सभापति सुरेन्द्रप्रसाद सिँह र मधेश प्रदेशका स्वास्थ्य मन्त्री वीरेन्द्रप्रसाद सिँहले स्वागत गरेका छन् ।
त्यस अवसरमा काँग्रेस सभापति सिँहले नवप्रवेशीलाई पार्टीभित्र उचित सम्मान तथा अवसर दिइने बताए । ‘त्यो भनेको सुहाउँदो स्थान र क्षमताअनुसारको जिम्मेवारी हो,’ उनले भने ।
नवप्रवेशी गौडैताका जुगल साहले काँग्रेसको पहलमा भएका विकास निर्माणका कार्य तथा लोकतन्त्रप्रति पार्टीको अटूट प्रतिबद्धताका कारण आफूहरूले काँग्रेस रोजेको बताए ।