सरकारमा पार्टी नेतृत्व मधेसका नेतालाई सुम्पेकामा ओलीलाई सम्मान
टोलपडोस समाचारदाता
काठमाडौँ, फागुन, २६ गते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका तर्फबाट संघ सरकारमा सामेल मन्त्रीहरूले प्राथमिकताका साथ मधेश र मधेशीको विकास तथा समृद्धिका लागि काम गर्ने बताएका छन् ।
अध्यक्ष ओलीले आफ्नो मन र मुटुमा मधेश तथा मधेशी रहेका मौजुदा मन्त्रिपरिषद्मा मधेसकै नेताको नेतृत्वमा मन्त्रीहरू पठाएको उल्लेख गरे ।
पार्टीको जनकपुरधाम नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको टोलीले शनिबार ओली निवास बालकोटमा भेटेर मधेशबाट पार्टीका तर्फबाट नेतृत्व समेत गर्नेगरी रघुवीर महासेठसहित तीन मन्त्री बनाएकामा सम्मान गरेपछि अध्यक्ष ओलीले सो प्रत्युत्तर दिएका हुन् ।
नयाँ सत्ता गठबन्धन बनेपछि नेकपा एमालेका केन्द्रीय सचिव एवम् धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट निर्वाचित महासेठलाई उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाइएको छ ।
एमाले जनकपुरधाम नगर कमिटीका सचिव राजु साहले नेता महासेठलाई पार्टीका तर्फबाट नेतृत्व गर्ने मौका र मधेश प्रदेशबाट तीन मन्त्री दिइएकाले पार्टी नेतृत्वप्रति यस्तो ऐतिहासिक अवसरका लागि सम्मानमार्फत आफूहरूले कृतज्ञता ज्ञापन गरेको जानकारी दिए ।
अध्यक्ष ओलीलाई सम्मान गर्न पुगेको टोलीमा पार्टी जनकपुरधाम नगर कमिटीमका अध्यक्ष भण्डारी, सचिव राजुकुमार साह, वार्डअध्यक्ष भोला राइन, पूर्व वार्डअध्यक्ष जानकीराम साह, सुनिल दास र युवा नेता गणेश साहलगायत थिए ।