सशस्त्र प्रहरीका सेवासुविधा न्यून भएकोमा मुख्यमन्त्री यादव चिन्तित

टोलपडोस समाचारदाता
बर्दिवास(महोत्तरी), २६ फागुन ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीले महत्वपूर्ण र प्रशंसनीय भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीको २२ औं स्थापना दिवसका अवसरमा बर्दिवासमा शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले शान्तिसुरक्षाका सबालमा सशस्त्र प्रहरीले क्रियाशीलता एवम् तत्परता सराहनायोग्य रहेको उल्लेख गरे ।
शान्तिसुरक्षामा अहोरात्र खट्ने सशस्त्र प्रहरीका सेवासुविधा न्युनतमसम्म नरहेकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री यादवले त्यसतर्फ विलम्ब नगरीकन ध्यान दिन संघ सरकारलाई आग्रहसमेत गरे ।
उनले शान्ति सुरक्षाका लागि आवश्यक स्रोतसाधन प्रदेश सरकारले समेत उपलब्ध गराउने जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी बर्दिवासका बाहिनीपति डिआइजी दीपेन्द्र शाहको अध्यक्षतामा भएको
कार्यक्रममा सशस्त्र प्रहरीका एआइजी चन्द्रप्रसाद गौतम, मुख्यन्यायधिवक्ता वीरेन्द्र ठाकुर, प्रदेशसभा सदस्य शारदा थापासहित सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरू, समाजसेवी, उद्योगीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई मेडल, ट्रफी एवम् उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।
