टेन्डर प्रक्रियाबारे छानबिन गर्न मन्त्री सिँहले बनाए समिति

टोलपडोस समाचारदाता
जनकपुरधाम, २७ फागुन ।
मधेश प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयले सिटी स्क्यान खरिद प्रक्रिया ऐनविपरीत अगाडि बढाएको विषयमा टिकाटिप्पणी तीव्र भएपछि छानबिन गर्नका लागि मधेश प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजीव झाको संयोजकत्वमा गठित छानबिन समितिमा मन्त्रालयको स्वास्थ्य शाखा प्रमुख डा.इन्द्रजीत कुमार रजक र प्रसूतिगृह थापाथली काठमाडौंका बायोमेडिकल इन्जिनियर डा.अमृतप्रसाद भण्डारी सदस्य छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयले सञ्चालन हुने भवनसहित दुई सिटी स्क्यान खरिद गर्ने टेन्डर आह्वान गरेको थियो । टेन्डरमा मिलेमतो गरी स्पेसिफिकेसन बनाइएको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए ।
प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री वीरेन्द्रप्रसाद सिँहले टेन्डर प्रक्रियामा अनियमितता भएको समाचार प्रकाशन भएपछि त्यसबारे सत्यतथ्य संकलन गरी मन्त्रालयमा प्रतिवेदन दिन छानबिन समिति गठन गरिएको बताए ।
सो टेन्डर प्रकरणमा समितिका विषयलाई लिएर समेत केही सञ्चारमाध्यममा भ्रामक समाचार छापिएको दाबी मन्त्री सिँहले गरे ।
आपूर्ति निर्देशनालयले टेन्डर गर्दाका प्रक्रियामाथि प्रश्नचिह्न ठडिएकाले मन्त्रालयले छानबिन समिति बनाए पनि मन्त्रिपरिषद्ले छानबिन समिति गठन गरेको केही सञ्चारमाध्यमले जनाएका थिए ।
प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले सो टेन्डर प्रक्रियाबारे छानबिनका लागि मन्त्रिपरिषद्ले कुनै पनि समिति नबनाएको एक दिनअघि प्रस्ट पारेका थिए ।