प्रादेशिक अस्पताल जनकपुरमा सिटी स्क्यान अझै बन्द, बाहिरका संस्थाको चाँदीकटाइ
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० फागुन ।
प्रादेशिक अस्पताल जनकपुरमा आधा महिनाभन्दा बढी समयदेखि बिग्रिएको सिटी स्क्यान सेवा अझै सुचारु हुन सकेको छैन । अस्पतालका निर्देशक डा.रामनरेश पण्डितले गत फागुन १२ गते मेसिनमा आएको खराबी ठिक गरी एकदुई दिनमै सिटी स्क्यान सेवा सुरु गरिने दाबी गरेका थिए ।
मधेस स्वास्थ्यविज्ञान प्रतिष्ठान अन्तर्गतको यो प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा अवरुद्ध हुँदा बिरामीलाई बाहिरका निजी संस्थाहरूमा सिटी स्क्यान गराउनु परिरहेको छ । प्रादेशिक अस्पतालको तुलनामा निजी संस्थामा सिटी स्क्यान सेवा महँगो छ । सिटी स्क्यानका लागि बिरामीलाई बाहिर लैजाने काम झन्झटिलो हुनेगरेको छ ।
प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद यादवले सिटी स्क्यान मेसिन बिग्रिएको बारे केही बताउन चाहेनन् । व्हाट्स एप मेसेन्जरबाट भएको सम्पर्कमा उनले आफू जनकपुर बनाउन आएको तर टोलपडोसका सम्पादकले बाटो छेक्न खोजेको टिप्पणी गरेका छन् ।
जानकारका अनुसार अस्पतालका परीक्षण उपकरण बिग्रिँदा पनि मर्मत गर्न उदासीनता र हेलचेक्रयाइँको पछाडि अर्थोपार्जनको अंकगणितले काम गर्ने गरेको छ । कुनै पनि परीक्षण सिफारिस गर्दा केही चिकित्सकले बाहिरका संस्थाबाट कमिसन रकम लिने गरेकाले पनि तिनकै चासोमा सिटी स्क्यान बनाउने कार्य प्रतिष्ठान व्यवस्थापनको चासोभित्र परेको छैन ।
अस्पतालको सिटी क्यान कक्षमा अर्को सूचना नहुँदासम्मका लागि सेवा बन्द रहेको जनाइएको छ । सूचनामा सम्पर्कका लागि एउटा नम्बर दिइएको छ । तर, सेवा बन्द भएपछि केका लागि र कोसँग सम्पर्क गर्न भनी फोन नम्बर लेखिएको बारे कसैलाई थाहा छैन ।
बिरामीको अवस्था र शरीरका भागका आधरमा गरिने सिटी स्क्यान र औषधि दिएर गर्नुपर्ने वा नदिई गर्नुपर्ने भन्ने कुराले खर्चमा भिन्नता ल्याउँछ । देशका अन्य ठाउँमा सिटी स्क्यान गर्ने निजी केन्द्रमा यसबापतको खर्च तीनदेखि छ हजार रुपैयाँ छ ।
सिटी स्क्यान एक्स–रे को एउटा रूप हो । जसको पूरा नाम कम्प्यूटराइज्ड फोटोग्राफी स्क्यान हो ।
बिरामीले बाहिर सिटी स्क्यान गराउँदा सिफारिस गर्ने चिकित्सकलाई आठ सय रुपैयाँदेखि लिएर कम्तीमा दुई हजारसम्म प्रति सिटी स्क्यान दिने गरिएको छ ।
केही गम्भीर रोगमा शरीरका खास भागको विस्तृत जानकारी प्राप्तिका लागि सिटी स्क्यान गर्न सिफारिस गर्छन् । बिरामीले अस्पतालमा चारदेखि छ हजार रुपैयाँमा गराउने सिटी स्क्यान बाहिर गराउँदा सातदेखि आठ हजार रुपैयाँ तिनुपर्ने हुन्छ ।