उपमेयरमाथि घुस लिएको आरोप : चुनावमा भोट, जागिरका लागि नोट !

२०८० फाल्गुन ३०, बुधबार १४:४२

सुरेन्द्र यादव /टोलपडोस 
जनकपुरधाम, फागुन ३० ।
करारमा जागिर लगाउने भन्दै सहिदनगर नगरपालिकाकी उपमेयर सुनिताकुमारी सिँहले दुईजनासँग रकम लिएको खुलासा भएको छ । चुनावताका विकासका नाममा मत लिएर उपमेयर बनेकी सिँहले सहिदनगर नगरपालिका वडा नम्बर ४ का आफ्नै दुई कार्यकर्तासँग तिनका बुहारीहरूलाई अहेब र कार्यालय सहयोगीको जागिर लगाउन भन्दै रकम लिएकीे आरोप पीडितहरूले लगाएका छन् ।

नगरपालिकाले गत भदौ १९ गते करारमा चार अहेब तथा १३ कार्यालय सहयोगी भर्ना गर्ने विज्ञापन प्रकाशन गरेको थियो । त्यसअनुसार आवेदन गरेका दुई महिला उम्मेदवारका अभिभावकसँग उपमेयर सिँहले रकम लिएकी आरोप लगाइएको छ ।

लिखित तथा अन्तर्वार्ता समेत दिएका ती महिलाको नाउँ अन्तिम नतिजामा प्रकाशन नभएपछि पीडितहरूले रकम फिर्ता मागेका छन् । तर, उपमेयर सिँहले भने नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन भएपछि जागिर लगाइदिने भन्दै रकम फर्काउन आनाकानी गरेकी छिन् ।

तर, पीडितले भने नगरपालिकाले तत्काल विज्ञापन नगर्ने कुरा आफूले बुझेको र उपमेयरसँग ब्याजसहित रकम फिर्ता लिने बताए । उनले रकम नदिए उपमेयर सिँह चढ्ने गाडी रोकेर असुलउपर गर्ने योजना सुनाए ।

सो विज्ञापनको नतिजा प्रकाशन गर्ने बेलाका प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी अहिले निलम्बनमा छन् ।

आफ्नो नाउँ नछाप्ने शर्तमा पीडितमध्ये एकले उपमेयर सिँहलाई घरमै पुगेर कबोल गरेको डेढ लाख बुझाएको बताए । उनका अनुसार जागिरको कुरा गर्न लमी बनेका एकअर्का व्यक्तिले समेत आफ्नी बुहारीलाई कार्यालय सहयोगीमा जागिर लगाउन ६० हजार रुपैयाँ उपमेयर सिँहलाई बुझाएका छन् ।

उपमेयर सिँहले भने जागिरका लागि रकम लिएको कुरा अस्वीकार गरिन् । उनले भनिन, ‘वडाध्यक्ष रमेश मुखियाले पीडित दाबी गर्नेको बुहारीलाई जागिरका कुरा गरेका हुन् । तर, रकमको लेनदेन भएको छैन ।’

उनले पालिका प्रमुख दिनेशप्रसाद यादव र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अबेर रातिसम्म अन्तर्वार्ता लिएर एकलौटी कर्मचारी भर्ना गरेको आरोपसमेत लगाइन् ।

उपमेयर सिँहले पीडित भनिएकासँग कुरा गर्न आफूले बोलाएको जानकारी समेत दिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH