मधेश प्रदेशमा डिजे बजाउँदा तीन लाख जरिबाना तिर्नुपर्ने
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० फागुन ।
चर्को स्वरमा बजाइने डिजे नियन्त्रणका लागि डिभिजन वन कार्यालय सिरहाले अग्रसरता लिएको छ । विवाह, व्रतबन्ध, मेलाजात्रा, महोत्सव आदि धार्मिक तथा साँस्कृतिक कार्यक्रममा बजाइने डिजेबाट उत्पन्न ध्वनि प्रदूषण नियन्त्रण गर्न स्थानीय प्रशासन र पालिकाहरू उदासीन भएका बेला डिभिजन वन कार्यालय सिरहाले त्यस विषयमा चासो लिएको हो ।
मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयले सिरहाभरिका लागि डिभिजन वन कार्यालय सिरहाका कर्मचारीलाई वातावरण निरीक्षक तोकेपछि प्रदूषण नहुनेगरी कार्यक्रम सञ्चालन गर्न सूचना जारी गरिएको छ ।
मन्त्रालयले गत असार ३१ गते नै वातावरण निरीक्षकसम्बन्धी निर्णय गरेको थियो ।
वातावरण संरक्षण ऐन २०७६ को दफा ३ को उपदफा को खण्ड (ग) बमोजिम आफ्नो प्रदेशभित्र प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षण सम्बन्धी मापदण्डको परिपालना भए वा नभएको सम्बन्धमा प्रदेश मन्त्रालयले प्रदेश सरकारको अधिकृतस्तरका कर्मचारीलाई वातावरण निरीक्षक तोक्ने व्यवस्था गरेको छ ।
वातावरण निरीक्षकले प्रदेशभित्रको वातावरण संरक्षण एवम् संवद्र्धन गर्न सो ऐनअन्तर्गत बनेका नियम, निर्देशिका, कार्यविधि वा मापदण्डको कार्यान्वयनका लागि अनुगमन तथा निरीक्षण गर्ने कानुनी व्यवस्था छ ।
डिभिजन वन कार्यालय सिरहाले तोकेको वातावरण निरीक्षक तथा सहायक वन अधिकृत मनोजकुमार कर्णले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ बमोजिम ध्वनि प्रदूषण नियन्त्रण गर्न सरोकारवालालाई जानकारी गराएका छन् ।
मंगलबार जारी गरिएको सूचनाविपरीत कार्य भएमा वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७ बमोजिम कारबाही गरिनुका साथै वातावरण संरक्षण ऐन २०७६ को दफा ३५(३) बमोजिम तीन लाख रुपैयाँसम्म जरिबाना हुने जनाइएको छ ।
डिभिजन वन कार्यालय सिरहाका अनुसार मधेश प्रदेशभित्र चर्को ध्वनि प्रदूषणका कारण अभद्र र उच्छृंखल प्रकारका संगीतले सामाजिक तनाव तथा द्वन्द्वको वातावरण सिर्जना भएको, मानसिक तथा शारीरिक समस्याहरू उत्पन्न भएको, झैझगडाका घटना बढेको तथा जनजीवनमा कठिनाइ उत्पन्न भएका छन् ।
चर्को आवाजमा डिजे लाउडस्पिकर बजाउने, सार्वजनिक स्थानहरूमा होहल्ला गर्ने जस्ता गतिविधिका कारण ध्वनि प्रदूषण हुन गई दैनिक जीवनयापनमा बाधाअवरोध, मानसिक समस्यामा वृद्धि, गर्भवती महिलामा गर्भ खेर जान सक्ने समस्या, मुटु रोगीमा समस्या, कान सुन्न सक्ने क्षमतामा कमी आउन सक्ने, वृद्धवृद्धाको स्वास्थ्यमा समस्या, बालवालिकामा रातिका समयमा बेचैनी र अनिद्रा हुने, अनावश्यक, अभद्र र उच्छृंखल गीतसंगीतले समाजिक सद्भावमा खलल पुग्ने, बिरामीको स्वास्थ्य अवस्था, अध्ययनअध्यापन, स्वास्थ्य संघसंस्थाको सेवाप्रवाह लगायतका कार्यमा असर परेको ठहर समेत डिभिजन वन कार्यालय सिरहाको छ ।
यसैगरी वातावरण निरीक्षक कर्णले मंगलबार नै एकअर्को सूचना जारी गरी ढुंगा, गिट्टी। बालुवासहितको वनक्षेत्र, स्वास्थ्यक्षेत्र, शिक्षाक्षेत्र, पर्यटनक्षेत्र, यातायातक्षेत्र, उर्जा जलस्रोत तथा सिँचाइक्षेत्र, खानेपानीक्षेत्र, आवास भवन तथा वस्तीविकास र सहरी विकास क्षेत्र, फोहोरमैला व्यवस्थापन क्षेत्रका साथै उद्योगक्षेत्रका आयोजना परियोजना तथा कार्यक्रम सञ्चालन गर्दा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गराउन जानकारी गराएका छन् ।
सूचनामा त्यस्तो गर्नुपर्ने कानुनी व्यवस्थाका बारेमा उल्लेख गर्दै उनले वातावरणीय अध्ययन स्वीकृत नगराई कार्य गरेमा ५० लाख रुपैयाँसम्म जरिबाना हुने स्पस्ट पारेका छन् ।