ट्रमा सेन्टरले घरेलु उत्पाद किन्ने

टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० फागुन ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडबाट उत्पादित सेनिटाइजर तथा अन्य औषधि खरिद गर्ने भएको छ ।
तुलनात्मक रूपमा महँगो भए पनि स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्ने नेपाल सरकारको निर्णय कार्यान्वयन गर्ने क्रममा राष्ट्रिय ट्रमा सेन्टरले घरेलु उत्पादन खरिद गर्ने सहमति गरेको हो ।
लिमिटेडका सामग्री खरिद गर्नेबारे बुधबार राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री रिजाल र लिमिटेडका महाप्रबन्धक संगीता यादवबीच सहमति भएको छ ।
कोभिडकालदेखि ठूलो परिमाणमा सेनिटाइजर विदेशबाट आयात हुँदैआएको छ । आयात प्रतिस्थापन गरी घरेलु उत्पादनलाई प्रश्रय दिई अर्थतन्त्रलाई टेवा दिन सरकारले घरेलु उत्पादनको प्रयोगसम्बन्धी निर्णय गरेको थियो ।