‘कसिलो मुठ्ठी उचाल्दै’ जसपा नेताहरूले गरे महराको अन्तिम बिदाइ
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ चैत ।
कसैको पनि निधन दुःखद हुन्छ । अझ् असामयिक निधन अत्यासलाग्दो नै । राजनीतिमा सक्रिय नेताकार्यकर्ताको निधन हुँदा पार्टीको झन्डा ओढाएर अन्तिम विदाइ गर्ने चलन छ । यसले अमुक पार्टीले आफ्ना दिवंगत व्यक्तित्वप्रति सम्मान गरेको दर्शाउँछ । साथै पार्टीले ती व्यक्तित्वको योगदानप्रति कृतज्ञता अर्पित गरेको र तिनको स्वामित्व ग्रहण गरेको समेत ठहरिन्छ ।
हिन्दु परम्परामा पार्थीव शरीरको संस्कारपूर्व श्रद्धाञ्जली दिने शास्त्रीय र लौकिक विधि छन् । मूलतः दुवै हात जोडेर श्रद्धापुष्प अर्पण गर्ने गरिन्छ । तर, राजनीतिक दलहरूमा कम्युनिस्ट पार्टीको परम्परा भने बेग्लै छ ।
कसिलो गरी मुठ्ठी उचाल्दै नेपालका कम्युनिस्टहरूले आफ्ना दिवंगत नेताकार्यकर्तालाई अन्तिम विदाइ गर्नेगरेका छन् । यसले दिवंगत व्यक्तित्वका आदर्श पछ्याउने र तिनका सपना पुरा गर्ने अटोठ पनि प्रदर्शित हुन्छ ।
जनता समाजवादी पार्टी(जसपा) नेपालको भ्रातृसंस्था समाजवाद दलित मुक्ति संगठनका पूर्व जिल्ला सचिव रामदयाल महराको असामयिक निधन भएका बेला उनको पार्थीव शरीरमा दलीय अभ्यासअनुसार पार्टीको झन्डा ओढाइएको छ । यससँगै जसपाको मधेश प्रदेश कमिटीका सदस्य चन्देश्वर महतोलगायतका नेताले कसिलो मुठ्ठी उचाल्दै महराको अन्तिम विदाइ गरेका छन् ।
यद्यपि अन्तिम विदाइमा सहभागी कतिपयले खुला हात उचालेर र दुई हात जोडी समेत श्रद्धासुमन व्यक्त गरेका छन् ।
जसपा नेपालका नेताकार्यकर्ताको निधन हुँदा यसअघि पार्टी झन्डा ओढाउने चलन भए पनि मुठ्ठी उचालेर सलामी दिने दृश्य बिरलै देखिएको छ । साम्यवादको कुरा नगर्ने तर लोकतान्त्रिक समाजवादी सिद्धान्त भएका पार्टीमा अन्तिम विदाइका बेला मुठ्ठी उचाल्ने परम्परा प्रायः छैन ।
पार्टीका स्थानीय नेता आतिश मिश्रले दिवंगत महराको अन्तिम विदाइमा सहभागीहरूले आआफ्ना किसिमले श्रद्धाञ्जली व्यक्त गरेको बताए । उनले मुठ्ठी उचाल्ने कार्य नियोजित नभई स्वतःस्फुर्त भएको दाबी गरे ।
उपेन्द्र यादव नेतृत्वको जसपा पछिल्लोपटक कम्युनिस्टहरूको समाजवादी पार्टी नेपालमा सम्मिलित भएको र अहिले कम्युनिस्ट एकता गर्दै बनेको सत्ता गठबन्धनको घटक भए पनि कम्युनिस्ट पार्टी मानिँदैन । जसपा आफैँले पनि आफू कम्युनिस्ट भएको स्वीकार गरेको छैन ।
श्रद्धाञ्जली व्यक्त गर्न मुठ्ठी उचाल्ने परिवर्तित शैलीका बारेमा टोलपडोसको जिज्ञासामा नेता महतोले आफू कार्यक्रममा रहेको र पछि फोन गर्ने भन्दै फोन सम्पर्कबाट बाहिरिए ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले पछिल्ला केही वर्षयता पार्टीमा विभिन्न पृष्ठभूमिका नेताकार्यकर्ता सम्मिलित भएकाले श्रद्धाञ्जली व्यक्त गर्ने शैलीमा पनि भिन्नता रहेको बताए । उनले भने, ‘सबैका आआफ्ना अभ्यास र रोजाइ हुन्छन् । कोही नमस्कार गर्छन त कोही मुठ्ठी उचाल्छन् । केहीका यीभन्दा नि फरक तरिका होला । तर, यस्तै गर्नुपर्छ भन्ने पार्टीको आधिकारिक निर्णय छैन ।’
जसपा नेपालमा निर्वाचित वा मनोनीत पदाधिकारीले भने छातीमा हात राखेर शपथग्रहण गर्ने विधि छ । जय मातृभूमि र जयमधेश पार्टीको आधिकारिक अभिवादन भएको प्रवक्ता सुमनले जानकारी दिए ।