प्रजातन्त्रका लागि मधेशको भूमि सतिसालझैँ उभिरहेको छ : राष्ट्रपति पौडेल
टोलपडोस समाचारदाता
मटिहानी(महोत्तरी), ३ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले आज मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमा अनावरणपछि मटिहानी नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै सो धारणा व्यक्त गरेका हुन् ।
“हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान गर्नुछ । यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता”, उनले भने ।
राष्ट्रपति पौडेलले मटिहानीदेखि सिन्धुली, ओखलढुंगा हुँदै सगरमाथाको भूमि नागरिक अधिकार स्थापनाका लागि भएका क्रान्तिको करिडोर भएको बताए । उनले मधेसलाई प्रजातन्त्रको भूमिका रूपमा आफूहरूले सम्मान गरिरहेको बताए ।
राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको लक्ष्य राखेको बताए ।
उनले संविधानमा अधिकारका विभिन्न प्रकार उल्लेख भए पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनको अन्तर्य भएको स्पष्ट पारे ।
उनले राजनीतिक रूपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौं तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ भनी उल्लेख गरे । “गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो यो त संस्कार, संस्कृति र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ”, उनले भने ।
नेपाली जनताको ठूलो संघर्ष, बलिदान र त्यागबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले देशले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेको भन्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको बताए ।
उनले प्रशासनिक रूपमा राज्यको पुनःसंरचना भए पनि राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँंकी रहेको धारणा व्यक्त गरे । “अब यसका लागि हामीले विलम्ब गर्न हुन्न भन्ने मलाई लाग्छ, संविधानबमोजिम प्रदेशहरूलाई अधिकारसम्पन्न बनाउने कानुन छिटो निर्माण गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको छु”, उनले भने ।
एकदलीय शासन व्यवस्थालाई जरैसँंग उखेल्ने कठिन तथा दुरुह संघर्ष अनि त्याग र बलिदानका कयौं कष्टकर दिनहरूमा आफूलाई न्यौछावर गरेर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र संगठनलाई नेपाली भूमिमा बलियो, सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त अविश्राम खटेका एक योद्धाको नाम केशव कोइराला भएको पनि उनले उल्लेख गरे ।
“ओखलढुंगाको पूर्वीगाउँ छहरे कोइराला गाँउमा जन्मेर प्रचुर धनसम्पति, नाताकुटुम्ब सबैलाई बिर्सिएर प्रजातान्त्रिक आन्दोलनको मूलधारमा सहभागी भएका केशव कोइराला कुशल संगठनकर्ता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो, ओखलढुंगामा जन्मेर राजविराज झरेर केशवलगायतले मधेशमा प्रजातन्त्रको पक्षमा चलाएको जागरण अभियानका कारण आज पनि मधेश प्रजातन्त्रका पक्षमा सतिसाल झैं उभिरहेको छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।
यसअघि प्रजातान्त्रिक योद्धा गणेश नेपालीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास, उत्पादन र रोजगारी बढाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा सबै एकजुट भएर लाग्न आह्वान गरे । उनले जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयन गरेरे नेपाली जनताले चाहेको सुशासन, विकास, उत्पादन र रोजागरीमार्फत समृद्धिको यात्रामा अघि बढ्ने राष्ट्रिय दायित्व पुरा गर्न लागि पर्नुपर्ने उनको भनाइ थियो ।
उनले संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयन गरी खासगरी विपन्न, पिछडिएका र गरीब जनताको जीवनस्तर माथि उठाउन सके मात्र लोकतन्त्रको सार र सार्थकता यथार्थमा रूपान्तरण हुनेछ औंल्याए ।
लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवनदर्शन र संस्कार बनाए मात्रै आज केशव कोइरालाजस्ता सहिदहरू र गणेश नेपालीजस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जली हुने उनले विश्वास व्यक्त गरे ।
केशव कोइराला र गणेश नेपालीको शालिक नेपालमा लोकतन्त्र स्थापना र पुनसर््थापनाका लागि भएका संघर्ष, त्याग र आरोहअवरोह बुझ्ने एउटा जीवन्त इतिहास भएर रहिरहने उनले विश्वास व्यक्त गरे ।
यसअघि आजै बिहान राष्ट्रपति पौडेलले जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरको दर्शन एवम् पूजा अर्चना गरे । त्यस्तै उनले पिपरमा रहेको लोकतान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरे ।