आयोध्या दर्शन गर्न छ युवकले थाले पैदलयात्रा
न्युज कारखाना
रौतहट, ३ चैत ।
रौतहटबाट छजना युवकको टोली भारतको अयोध्याधामका लागि पैदलयात्रामा निस्किएका छन् ।
जिल्लाको दक्षिणी भेगको सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएको राजापुर नगरपालिका घर भएका ६ युवक भारतको अयोध्याधामका लागि पैदलयात्रामा निस्किएका हुन् ।
अयोध्याधाममा हालै उदघाटन भएको भगवान रामलगायत मन्दिरहरूमा दर्शन गर्ने उद्देश्य लिएर शनिबार उनीहरूको टोली घरबाट पैदलयात्रा सुरु गरेका हुन् ।
धार्मिक यात्रामा निस्केका युवा टोलीमा राजापुर नगरपालिका ५ का वर्ष २५ का सुरेन्द्र साह, सोही उमेर समूहका रमेश साह, शम्भु यादव, रूपेश साह, हरिनारायण साह र लालबाबु साह छन् ।
राजपुरदेखि पैदल ७ दिनमा अयोध्याधाम पुग्ने लक्ष्य रहेको उनीहरूले बताएका छन् ।
धार्मिक यात्राका लागि निस्केका युवालाई राजापुर ५ का वडाध्यक्ष कृष्णन्दन साहलगायतकाले खाँदा ओढाएर बिदाइ गरेका छन् ।
राजपुरबाट उनीहरू बंकुलबजार, बाराको काचोर्वा नाका हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेका थिए ।
रौतहटको कटहरिया नगरपालिकाका वैद्यनाथ जैसवाल केही महिनाअगाडि साइकल चढेर भारतको जमुस्थित माता वैष्णोदेवीको दर्शन गरेर फर्केका थिए ।