‘नो बिलौना, जुट्ने हो अब संगठन मजबुत बनाउन’
टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ चैत ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिँह तीन दिनअघि प्रादेशिक राजधानी जनकपुरधामस्थित मधेश भवनभित्र भेटिए । अझ् आफ्नै कार्यकक्षमा । पूर्ववत् बाक्लो भिडभाड थिएन । तर पनि उनी फुर्सदिला थिएनन् । सरकारी अस्पतालहरूको स्तरोन्नतिका विषयमा एक कर्मचारीसँग परामर्श गरिरहेका थिए । केही सर्वसाधारण र केही राजनीतिकर्मी उनलाई भेट्न कार्यकक्ष बाहिर पर्खिरहेका थिए ।
उनको अनुहारमा नैराश्य वा खिन्नता थिएन । सधैँझैँ उत्साही र आत्मविश्वासी देखिएका मन्त्री सिँहले सेवाग्राहीलाई हार्दिकतापूर्वक सोधिरहेका थिए, ‘के गर्नुपर्छ ?’ एकएक गरी सबैले आफ्ना समस्या सुनाए र उनले आफ्ना सचिवालयमा कार्यरत सहकर्मीतिर सोझिँदै सेवाग्राहीका समस्या समाधानका लागि पहल गर्न निर्देशन दिए ।
टोलपडोसको प्रश्न थियो, ‘जानेबेला भयो होइन र ?’ उनले हँसिलो मुद्रामा भने, ‘राजनीति हो । आउनेजाने क्रम त चलिरहन्छ । जनताका काम रोकिनु हुँदैन । पदमा हुँदासम्म सक्दो पदीय जिम्मेवारी निर्वाह गर्ने हो । भोलि सरकारमा नहुँदा पनि फरक जिम्मेवारी त रहिरहन्छ नै ।’
केन्द्रीय सत्ता गठबन्धनमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रिएका छन् । काँग्रेसको बहिर्गमन भएको छ । जसपा नेपाल र नेकपा एकीकृत समाजवादी कम्युनिस्ट एकताको सन्देशमा निर्मित प्रचण्ड सत्ताको नयाँ अध्यायमा थपना बनेका छन् । यस्तोमा मधेश प्रदेश सरकारको समीकरण बदलिने प्रायः निश्चित छ । अर्थात् मधेश प्रदेशमा पनि ढिलोचाँडो काँग्रेसले सरकार छाड्नुपर्ने हुन्छ । राजीनामा दिएर वा बर्खास्तगीमा परेर ।
तर, काँग्रेसका मन्त्री सिँहमा सरकार छाड्नुपर्ने बेलामा देखिने निन्याउरोपन देखिएन । सरकारबाट अलग्गिनुपर्ने फिकिरले अनुहार मलिन भएको छनक पाइएन । ‘किन चिन्ता गर्ने ? मन्त्री पद सधैँका लागि हुँदैनन् । हुँदासम्म कामलाई तीव्र, व्यवस्थित र प्रभावकारी ढंगले सम्पादन गर्ने हो । त्यसमा म चुकिनँ । रातदिन नभनी मैले उपलब्धि प्राप्त हुनेगरी काम गरेँ । यसमा सन्तोक छ,’ मन्त्री सिँहले भने ।
अस्पतालको सँख्या विस्तार, स्तरोन्नति र सेवासुधारमा मन्त्री सिँहले फड्को मार्नेगरी काम गरे । आँटिला भएर निजी अस्पताललाई कानुनको दायरामा आउने वातावरण बनाए । निवारणात्मक तथा प्रबद्र्धनात्मक स्वास्थ्यका क्षेत्रमा उच्चतम परिणाम दिने खाका तयार गरे । केही महत्वपूर्ण कामका लागि प्रक्रिया अघि बढे पनि पूर्णता पाउन बाँकी नै रहे ।
प्रदेशसभाको पहिलो र दोस्रो दुवै कार्यकालका सदस्य मन्त्री सिँह दुवै कार्यकालमा मन्त्री बने । दुवै कार्यकालमा मन्त्री बनेका उनी पहिलो व्यक्ति हुन् । तर पहिलो कार्यकालमा मन्त्रीका रूपमा उनले काम गर्ने पर्याप्त समय पाएनन् । कुनै चमत्कार भएनन् यसपालि पनि पाउने छैनन् । ‘राजनीतिक अस्थिरताले देशले गति लिन नसकेको गुनासोको अन्त्र्य यो नै हो,’ मन्त्रीकै कार्यकक्षमा भेटिएका सञ्चारकर्मी सुरेन्द्र यादवले भने ।
संयुक्त सरकारमा राजनीतिक नियुक्ति कठिन कार्य हो । सरोकारवाला मन्त्रीले चाहँदैमा कोही व्यक्ति कुनै पदमा नियुक्त हुन पाउँदैनन् । कानुनी व्यवस्था र प्रक्रियागत कारणले त्यसमा मुख्यमन्त्रीको सहमति अनिवार्य हुन्छ । कार्यकारी पदमा मुख्यमन्त्रीले नचाहँदैमा नियुक्ति सम्भव हुँदैन । यसै समस्याले मधेश प्रदेश सरकारले नियुक्त गर्ने धेरैजसो पदमा कोही नियुक्त हुन सकेनन् ।
राजनीतिक नियुक्तिमा सहमतिका आधारमा नियुक्ति गर्ने भन्दाभन्दै मुख्यमन्त्री सरोजकुमार यादवका पालामा पहिलोपटक सामेल भएका नेकपा एमाले र अहिले सामेल काँग्रेस दुवै चुके । अब सम्मिलित हुने दलका लागि पनि यो कार्य कष्टप्रद नै हुनेछ ।
तर, मन्त्री सिँहले मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति गर्न सफल भए । पार्टीभित्र र बाहिरका दबाब थेगेरै उनले प्रतिष्ठानका रेक्टर डा.अंकुर साहलाई प्रतिष्ठानका उपकुलपति नियुक्त गराए । ‘सही व्यक्तिलाई सही पद’ मा स्थापित गराउने उनको यो जमर्कोलाई प्रशंसायोग्य मानिएको छ ।
‘सरकारबाट काँग्रेस बाहिरिँदै गर्दा अर्थात् संक्रमणकालमा डा.अंकुर नियुक्त भएका हुन् । यसले मन्त्री सिँह एक कुशल रणनीतिकार पनि हुन् भन्ने प्रस्ट हुन्छ,’ स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका एक कर्मचारीले भने ।
राजनीति गर्नेका लागि सत्तामा रहँदा धेरै काम गर्नुपर्ने हुन्छ र नहुँदा पनि कामको कमी हुँदैन । अहिलेको उथलपुथलका बेला मन्त्री सिँह सर्लाहीको आफ्नो गृहक्षेत्रमा सक्रिय छन् । त्यहाँ उनले विभिन्न राजनीतिक दल परित्याग गरेर आउने नेताकार्यकर्तालाई काँग्रेसमा स्वागत गरिरहेका छन् ।
सर्लाहीको क्षेत्र नम्बर ४ मा शनिबारमात्र उनले नेकपा माओवादी परित्याग गरेर आएका धनकौल–१ सेखौनाका प्रेम महतोसहित सयभन्दा बढी नेताकार्यकर्तालाई काँग्रेसको सदस्यता दिए ।
यसअघि पनि उनले लोसपा परित्याग गरेका धेरै सँख्यामा गौडैताका नेताकार्यकर्तालाई पार्टीभित्र लिएर आए ।
‘पार्टीको संगठन सुदृढीकरण सधैँ गरिरहने तर अनिवार्य काम हो । यो मेरो चासो र रुचिभित्रको विषय पनि हो । अब म यसमै जुट्छु,’ काँग्रेसको मधेश प्रदेशका उपसभापति समेत रहेका मन्त्री सिँहले भने ।