मुख्यमन्त्री यादव पल्टुराम रहेको काँग्रेसको ठहर
टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ चैत ।
नेपाली काँग्रेस मधेश प्रदेशले मधेश प्रदेश सरकारका मुखिया सरोजकुमार यादवलाई पल्टुरामको संज्ञा दिएका छन् । मधेश काँग्रेसका सभापति कृष्णप्रसाद यादवले आफ्नो नेतृत्व जोगाउन मुख्यमन्त्री सरोजले जुनसुकै बेला जतापट्टि पनि ढल्किन सक्ने गैरराजनीतिक संस्कार देखाएको आरोप लगाए ।
आइतबार टोलपडोससँग कुरा गर्दै नेपाली काँग्रेस संसदीय दलका नेतासमेत रहेका यादवले प्रदेश सरकारबाट काँग्रेसका मन्त्री हटाउने सबालमा मुख्यमन्त्री अलमलमा रहेको दाबी गरे । मुख्यमन्त्री यादवलाई सरकारबाट काँग्रेस हटाउन चुनौती दिँदै उनले भने, ‘भविष्यको जटिलताबारे अनुमान गरेर मुख्यमन्त्रीले काँग्रेसका मन्त्री आफैँ राजीनामा गरेर सरकारबाट बिदा होउन् भन्ने चाहन्छन् । तर, हामीले यसपालि उनलाई त्यो सुविधा दिन चाहँदैनौं ।’
कुनै बेला काँग्रेस त कुनै बेला एमालेलाई विश्वासमा लिएर पद जोगाउन मुख्यमन्त्री उद्यत रहेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका काँग्रेस संसदीय दलका नेता यादवले पल्टुराम रहेको मुख्यमन्त्रीको चरित्र नाङ्गोझार पार्न आफूहरूले सरकार नछाडेको जिकिर गरे ।
‘मुख्यमन्त्रीले राजीनामा दिन भन्नुभएको छ । तर, मैले राजीनामा दिन्न भनिसकेको छु । बर्खास्त गर्नुस् कि त मन्त्रिपरिषद् पुनर्गठन गर्नुस् भनेको छु,’ मन्त्री यादवले भने । उनले दुवै परिस्थितिमा काँग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिएर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
मुख्यमन्त्री यादव दुवै हातमा लड्डु भन्ने चाहेको उल्लेख गर्दै सरकारबाट काँग्रेसको बहिर्गमनपछि सरकारलाई समर्थन कायम रहोस् भन्ने उद्देश्यले प्रेरित भएर राजीनामा माग गरिरहेको यादवको तर्क छ । ‘हिजो सरकारबाट एमाले बाहिरिँदा उसको समर्थन र आज काँग्रेस अलग हुने बेलामा हाम्रो समर्थन मुख्यमन्त्रीको चाहना हो । त्यसैले उनले हामीलाई बर्खास्त वा पुनर्गठनका माध्यमले हटाउन नचाहेरै राजीनामामा जोड दिएका हुन्,’ यादवले भने ।
पछिल्लो सरकार गठनका बेला आफूहरूसँग केके सहमति भएको बारे मुख्यमन्त्रीलाई सम्झिन भन्दै उनले सुरसन्ड प्रकरणमा काँग्रेसले सरकार जोगाएको बिर्सेका मुख्यमन्त्री यादव बैगुनी र दुईधारे भएको समेत टिप्पणी गरे ।
‘हामीलाई थाहा छ । हामी सरकारबाट बाहिरिँदैछौँ । मैले मन्त्रालयको कामकाजमा कुनै हस्तक्षेप पनि गरेको छुइनँ । तर पनि राजीनामा दिएर मुख्यमन्त्रीको बाटो सहज बनाउन चाहँदिन,’ उनले भने ।
मुख्यमन्त्री यादवका लागि आगामी दिन सहज नभएको समेत मन्त्री यादवले टिप्पणी गरे । उनले अरू अबुझ भएका भन्ने भ्रममा छल्ने प्रवृत्ति घातक भएको पनि औंल्याए ।