डिएफओ हेमन्त साह निलम्बित, भ्रष्टाचार अभियोगमा साहसहित २४ जनमाथि मुद्दा दायर
टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ चैत ।
डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत (डिएफओ) हेमन्तप्रसाद साह निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भनी विशेष अदालतमा आइतबार मुद्दा दायर गरेसँगै डिएफआ साह निलम्बित भएका हुन् ।
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर १ स्थित रम्तेलडाँडा सामुदायिक वनक्षेत्रका रुखमा टाँचा गराई कटान गर्न इजाजत दिएको अभियोग डिएफओ साहमाथि लगाइएको छ ।
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हुँदा डिएफओ साहसहितका कर्मचारीले व्यक्तिसँगको मिलेमतोमा वन फँडानी गराएको भन्दै उनीसहित थप २३ जनामाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार रम्तेल डाँडाको सामुदायिक वनको जग्गामा लगाइएका रुख कटान गर्न निजी आवादी जग्गा भएको भन्दै गलत सिफारिस तथा प्रतिवेदनका आधारमा रुखमा टाँचा लगाउने तथा कटान इजाजत दिइएको थियो ।
व्यक्तिलाई लाभ हुनेगरी वनक्षेत्रका सखुवा, सिसौ, भिक्स र टिक जातका चार सय छवटा ठूला रुख कटान हुँदा एघार लाख छयानब्बे हजार छ सय ९५ रुपैयाँबराबरको सरकारी सम्पत्ति हानीनोक्सानी भएको आयोगको ठहर छ ।
रम्तेलडाँडा सामुदायिक वन क्षेत्रमा रहेका रुखहरू बर्दिवास नगरपालिका वडा नं. १ बस्ने जग्गाधनी लीलामणी आचार्य र कृष्णप्रसाद गौतमको संयुक्त नाममा दर्ता कायम रहेको साविक २५ नं. बहादुरगञ्ज वडा नं. ३ (क) कित्ता.नम्बर २ को एक विग्घा दुई कठ्ठा ११ धुर क्षेत्रफल निजी नम्बरी आवादीको जग्गाभित्र पर्छ भनी डिभिजन वन कार्यालय महोत्तरीले कटान इजातजत दिएको थियो ।
आयोगले सो कार्यमा संलग्न कर्मचारी, सामुदायिक वनका पदाधिकारीहरू र उपभोक्ता समितिका व्यक्तिहरूउपर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएका कर्मचारीमा डिएफओ साहका अतिरिक्त डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सब–डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेस्टर सन्तोषकुमार साह, वनरक्षकहरू राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतो छन् ।
यसैगरी सोही मुद्दामा अभियुक्त बनाइएकामा नापी कार्यालय बर्दिवास महोत्तरीका तत्कालीन अमिन रामदरस राउत, मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायबसुब्बा ओमप्रकाश खड्का, बर्दिवास नगरपालिका वडा नं. १ का तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठ र बर्दिवास नगरपालिका वडा नं. १ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेल छन् ।
त्यस्तै रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर भनिने धनकुमारी, तत्कालीन सदस्यहरू उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङ्ग, बर्दिवास नगरपालिका–१ बस्ने जग्गाधनीद्वय लीलामणी आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोसी गाउँपालिका –४ का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपालीमाथि पनि मुद्दा दायर गरिएको छ ।