जनमत पार्टीले गर्मीयाममा खानेपानीका लागि सरकारमाथि दबाब दिने

२०८० चैत्र ५, सोमबार ०१:०९
वीरगन्जमा चैत ३ र ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णयबारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा डा.सिके राउत(बीचमा) लगायत । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ चैत ।
जनमत पार्टीले सुख्खायामका बेला मधेशमा हुने खानेपानी अभावको समस्या समाधानका लागि पूर्वतयारीबापत स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न संघ सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

वीरगन्जमा चैत ३ र ४ गते सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकले आउँदो रोपाइँयाममा किसानहरूका लागि मलखाद तथा बिउबिजन समयमै सहज उपलब्ध गराउन सरकारलाई दबाब दिने निर्णय समेत गरेको छ ।
बैठकले आर्थिक मन्दीका कारण थला परेका उद्योगव्यवसायका समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ ।

पार्टीद्वारा आइतबार जारी प्रेस नोटमा केन्द्रीय समिति बैठकले प्रदेश १ मा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सिमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलन तथा प्रदेश नं. ७ मा मधेश–थरूहट आन्दोलनको मर्मबमोजिम लुम्बिनी प्रदेशको सिमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउन आन्दोलनको नेतृत्व गर्ने निर्णय गरिएको जनाइएको छ ।

यसैगरी सो बैठकले प्रदेशहरूलाई अधिकारसम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐनकानुन चाँडै निर्माण गराउन पहल गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सडक, सदन र सरकार तीनै मोर्चाका लागि सशक्त तयारी गर्ने निर्णय गर्नुका साथै सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भ्रातृ संगठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेरसमूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम संचालन गरी १० गुना संगठन विस्तार गर्ने लक्ष्य लिई काम गर्ने प्रस्ताव पारित गरेको छ ।

सदस्यता र संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमहरूका साथै सशक्त आन्दोलनका लागि युवा दस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने पार्टी केन्द्रीय समितिले निष्कर्ष निकालेको छ ।

बैठकमा कार्यप्रगति समीक्षा विषयमा छलफल हुँदा सहभागीहरूले आ–आफ्ना कार्यप्रगति विवरण पेस गरेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्य तथा पर्यवेक्षकलाई तोकिएका कार्य पुरा गरे–नगरेको मूल्याङ्कन गरिने र मूल्याङ्कनका आधारमा नै आगामी दिनमा केन्द्रीय सदस्यमा जारी राख्ने÷नराख्ने वा अन्य जिम्मेवारी दिने निर्णय गरिने कुरामा सहमति भएको छ ।

केन्द्रीय समिति बैठकमा पस भएका “आखिर नेपालको विकास किन भएन ? रिभर्स इन्जिनियरिङ्ग दृष्टिकोण तथा ‘दोस्रो गणतन्त्र तथा सामाजिक लोकतन्त्र’ को लडाइ” शीर्षकका राजनीतिक प्रस्तावमाथि छलफल भई प्रस्ताव पारित गरिएको छ ।

बैठकले पार्टीको आगामी वर्ष जेठ १५ गते काठमाडौंमा हुने भनिएको आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारी थाल्ने निर्णयसमेत गरेको छ ।

केन्द्रीय समिति बैठक पार्टी अध्यक्ष डा.सिके राउतको सभापतित्वमा सम्पन्न भएको छ ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH