मधेश प्रदेश सरकारबाट काँग्रेस आउट–एमाले इन, महन्थ ठाकुरको लोसपा यथावत्
टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ चैत ।
जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकारमा सङ्घीय सत्ता गठबन्धनका दल नेकपा एमाले सामेल भएको छ । पुरानो गठबन्धनका दल नेपाली काँग्रेसका तीन मन्त्रीको बहिर्गमनसँगै सोमबार प्रदेश सरकारमा नेकपा एमालेको प्रवेश भएको हो ।
मधेश प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मन्त्री पदको शपथ लिएका छन् । यादवलाई मधेश भवनमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भौतिक पूर्वाधार विकास मन्त्रीमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथग्रहण गराएकी छिन् ।
एमाले संसदीय दलका नेता सरोज पुर्नगठित १० सदस्यीय प्रदेश मन्त्रीपरिषद्मा दोस्रो वरीयतामा छन् ।
मुख्यमन्त्री यादवले आज पुनर्गठन गरेको मन्त्रिपरिषद्मा शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय आफैँसँग राखेका छन् । यीमध्ये श्रम तथा यातायात बाहेकका मन्त्रालयमा एमालेका तर्फबाट मन्त्री बनाइनेछ ।
पुनर्गठित मन्त्रिपरिषद्मा तेस्रो वरीयतामा जसपाका नेता सञ्जयकुमार यादव छन् । उनी पूर्ववत् अर्थमन्त्रीकै जिम्मेवारीमा छन् ।
गठबन्धनका घटक दल नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मन्त्री रहेका गोविन्दबहादुर न्यौपाने चौथो वरीयतामा पहिलेझै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नै छन् ।
जसपाका प्रदेशसभा सदस्यहरू सुरिताकुमारी साहलाई खेलकुद तथा समाजकल्याण र सिँहासन सा कलबारलाई ऊर्जा, सिँचाइ तथा खानेपानी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका रमेश पटेल कुर्मीलाई वन तथा वातावरण, र नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य सुनिता यादवलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयमा यथावत् राखिएको छ ।
यसअघि प्रदेश सरकारका दुई राज्यमन्त्रीले पनि निरन्तरता पाएका छन् । जसपा नेपालका शेख अबुल कलाम ऊर्जा, सिँचाइ तथा खानेपानी रहबर अन्सारी उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयमा राज्यमन्त्रीमा निरन्तरता पाएका हुन् ।