सुरसन्ड प्रकरणका नायक भरत साह किनाराकृत, महानायक सरोज यादव सत्तामा

२०८० चैत्र ५, सोमबार १९:१९

एमाले मन्त्रीको शपथग्रहणमा बोलाइएनन् गठबन्धन दलका अन्य नेता

मधेश प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साह र नेकपा एमालेको संसदीय दलका नेता एवम् नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव । तस्बिर : टोलपडोस

टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ चैत ।
जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकार परिवर्तन हुनेगरी भएको सुरसन्ड कान्डका नायक नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहलाई भित्तोमा टाँस्ने प्रयास सुरुभएको छ ।

काँग्रेससहितको अघिल्लो सत्ता गठबन्धनका बेला असन्तुष्ट सत्तारुढ दलहरूले आफूहरू सम्मिलित सरकारका मुख्यमन्त्री सरोजलाई विश्वासको मत नदिन केही समयअघि सीमावर्ती भारतीय क्षेत्र सुरसन्डमा भेलाजम्मा भएका थिए ।

जनमत पार्टी सरकारबाट बाहिरिँदा मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने बेलामा अनुपस्थित हुने र सरकार अल्पमतमा परेपछि नयाँ सरकार बनाउने असफल रणनीतिक योजनाका नेतृत्वकर्ता नेता साहलाई सोमबार भएको शपथग्रहणमा बोलाइएन ।
नेता साहको पार्टी पनि नयाँ गठबन्धनमा छ । अझ् प्रदेश सरकारको नेतृत्व गर्ने दल जसपा नेपाल समेतको समर्थनमा संघ सरकारको नेतृत्व नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरिरहेका छन् ।

मधेश प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने, तत्काल परिवर्तन नभए पनि दलहरूबीच आलोपालो हुनुपर्ने, सरकारमा सहभागी हुने मन्त्रालयको सँख्या र प्रकृति किटान हुनुपर्ने लगायतका विषयमा चट्टानी अडान लिएका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सोमबार मन्त्री पदको शपथ लिइरहँदा उनकै भाकामा बोल्ने साह कार्यक्रममा देखिएनन् ।

सरकारबाट जनमत बाहिरिएलगत्तै विश्वासको मत लिने संवैधानिक अल्झोमा पुगेका मुख्यमन्त्री सरोज सरकारको बहिर्गमन र नेकपा माओवादी केन्द्रका नेता साह नेतृत्वको नयाँ सरकार बनाउनेगरी सुरसन्ड कान्डको पृष्ठभूमि तयार गर्ने प्रमुख रणनीतिकार आज मन्त्री बनेका एमाले नेता सरोज थिए ।

सरोजले नै असन्तुष्ट दलहरूलाई छुट्टाछुट्टै र एकठाउँ भेला गरी विश्वासको मत विफल गर्ने र साहको नेतृत्वमा सरकार गठन गर्न हस्ताक्षर अभियान चलाएका थिए । त्यतिबेला सरोजले जसपा नेतृत्वको सरकार वर्चस्ववादी र पार्टीकेन्द्रित भएको तथा संयुक्त सरकारको मान्यताअनुरूप अघि नबढिरहेको आरोप लगाएका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका निकायका प्रमुखलाई आफू एकाधदिनमा मन्त्री बन्ने जनाउ दिँदै कुनै पनि काम नगर्न अह्राएका सरोजले सरकारमा सहभागी हुन तीव्र आतुरता देखाए । सरकारमा सहभागी हुनुपूर्व उनले गठबन्धनमा सामेल अन्य दलका नेताहरूसँग सामान्य सल्लाहसम्म गरेनन् ।

काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्री पल्टुराम भएको टिप्पणी गरेपछि चिढिएका मुख्यमन्त्री सरोजले काँग्रेस हटाउन र एमाले भित्र्याउन सरकार पुनर्गठन गर्ने तयारी गरेपछि सरोजले मुख्यमन्त्रीसँग मात्र छलफल गरे ।

उनले नेकपा माओवादी केन्द्रका नेता साहले सत्तासमीकरणका विषयमा कुराकानी गर्न गरेको आग्रहलाई अस्वीकार मात्र गरेनन् । बरु आफूहरूलाई सरकारमा जानबाट छेकबार लगाउन साहले प्रयास गरेको अर्थमा गठबन्धनबीचको थप कुराकानीलाई अथ्र्याएको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री यादवले आज दिनभर एमाले नेता सरोजसँग छलफल गरिरहँदा गठबन्धनका अन्य दलका नेतासँग कुरा गरेनन् ।
सरकार पुनर्गठन हुँदा वा विस्तार हुँदाका बेला शपथग्रहणमा विभिन्न राजनीतिक दलका संसदीय दलका नेतालाई आमन्त्रण गर्ने अभ्यास छ ।

तर आजको शपथग्रहण समारोहमा नेकपा माओवादी केन्द्रका नेता ‘साह, जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादव, नेपाली काँग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद र नेकपा(एकीकृत समाजवादी) को संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेलाई बोलाइएन ।

यता मुख्यमन्त्री यादवका प्रेस संयोजक आतिश मिश्रले एमालेले मन्त्रीको नाउँ पठाउन ढिलो गरेको र शपथग्रहणको साइत जुराइएको जानकारी भएकाले समय अभावमा धेरैलाई समारोहमा बोलाउन नसकिएको बताए ।

जनमत पार्टीको संसदीय दलका नेता महेशले शपथग्रहण नबोलाउनु मुख्यमन्त्रीको हतास मनस्थितिको परिणाम भएको बताए ।
नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता न्यौपानेले पनि शपथग्रहणमा आफूलाई नबोलाइएको जानकारी दिए । उनले भने, ‘तर म बाहिर थिएँ, भर्खर आएको छु ।’

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH