उजाइबाट जोगिन गंगासागरका माछा स्थानान्तरण गर्न विज्ञको सुझाव

२०८० चैत्र ५, सोमबार २३:३४
जनकपुरधामको प्रसिद्ध गंगासागर । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ चैत ।
अक्सिजनको कमीका कारण जनकपुरधामको गंगासागर पोखरीमा पालन गरिएका माछा मर्न थालेका छन् । सोमबार बिहान उज्यालो हुनुअघिबाट पोखरीमा माछा मर्न थालेपछि जनकपुरधामस्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र धनुषाले पानीमा अक्सिजनको मात्रा परीक्षण गरेको छ ।

‘अक्सिजनको स्तर कम हुँदा पोखरीको माछा मर्ने समस्या नयाँ होइन । छठअघि पनि पानीमा अक्सिजनको मात्रा कम हुँदा माछा मर्ने स्थिति देखिएको थियो,’ केन्द्रका प्रमुख एवम् पशुचिकित्सक डा.सञ्जीव ठाकुरले भने । उनले पानीमा घुलित अक्सिजनको मात्रा परीक्षणपछि माछा मर्न नदिने अस्थायी समाधानका लागि उपाय गरिने पनि बताए ।

पानीमा अक्सिजन मात्रा कम भएपछि माछाहरू पोखरीको सतहमा आई सास लिन खोज्छन् । माछाहरू सतहमा आई सास फेर्न खोजेमा अक्सिजनको कमी भएको अनुमान गरिन्छ । अक्सिजन कमी भएको अवस्थामा माछा सिधा माथि मुख गरेको तथा सुस्त अवस्थामा रहन्छन् । त्यस्तोमा सानो ढुंगा फाल्दा टाउको डुबाई पुनः त्यसै ठाउँको वरिपरि देखापर्छन् ।

डा.सञ्जीव ठाकुर, पशुचिकित्सक

स्थानीय बोलीचालीमा यसलाई पोखरीमा उजाइ उठेको भनिन्छ । उजाइ उठ्दा ठूलो सँख्यामा माछा भटाभट मर्ने गर्छन् ।

गंगासागरमा पनि सोमबार बिहान यस्तै अवस्था आएको पशुचिकित्सक डा.ठाकुरले बताए । माछा मर्न थालेको बारे गंगासागर आरतीका मुख्य अभियन्ता प्रदेशसभा सदस्य रामअशीष यादवले खबर गरेपछि डा.ठाकुर नेतृत्वको टोलीले पोखरीमा पुगी पानीमा अक्सिजनको मात्रा र पानीको अम्लीय वा क्षरीय स्थिति बुझ्न पिएच मापण गरेको छ ।

‘दिउँसोको समयमा पानीमा अक्सिजनको स्तर ठिक देखाए पनि बिहानीपख कम नै रहेको हामीले अनुमान गरेका छौं । पानी अम्लीय भए घर पोत्ने चुना पोखरीमा हाल्न सुझाउनेछौँ,’ डा. ठाकुरले भने ।

गंगासागर धार्मिक पोखरी रहेको र यहाँ पालन भएका माछा मार्न नहुने मान्यताका कारण माछाको सँख्या तथा घनत्व बढ्दै गएको, पोखरीछेउको डिप बोरिङबाट केही समययता पानी आउन छाड्दा पानी नथपिने र नुहाइधुवाइ, लत्ताकपडा धोइपखाल्ने काम र पिण्डदान आदिका कारण पोखरीमा विसर्जित फोहोरमैला सडाउन गलाउन अक्सिजनको अत्यधिक खपत हुँदा माछाका लागि सास फेर्न कठिन भएको हो ।

डा.ठाकुरले पोखरीमा सास फेर्न नसकेर माछा मर्न नदिन अर्थात् अक्सिजनको सही स्तर बनाइराख्न एरिएटर प्रयोग गर्न, पम्पिङग सेटले पोखरीको पानी तानी पुनः हाल्न, पौडी खेल्न लगाउन वा पानी चलाउने व्यवस्था गर्न सुझाव दिए । उनले पानी कम र माछा बढी भएको गंगासागरबाट केही परिमाणमा माछा अन्यत्र सार्न उपयुक्त हुने पनि बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH