नयाँ गठबन्धनमा सुनिता यादव नै मन्त्री रहँदा माओवादीमा मनमुटाव

२०८० चैत्र ६, मंगलवार १२:५५
सुनिता यादव, मन्त्री, उद्योग, वाणिज्य तथा पर्यटन, मधेश प्रदेश

टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ चैत ।
सोमबार पुनर्गठित मधेश प्रदेश सरकारमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीका रूपमा सुनिता यादवले निरन्तरता पाएपछि नेकपा माओवादी केन्द्रको प्रदेशभित्रका चार गुटबीच अन्तद्र्वन्द्व चुलिएको छ ।

प्रदेशमा पार्टीभित्र मातृकाप्रसाद यादव, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र महेन्द पासवानका गुट छन् । मन्त्री यादव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक मानिन्छन् भने प्रदेशमा उनको गुटका नेता महेन्द्र पासवान छन् ।

पार्टीको प्रदेश तहमा संस्थागत छलफल नभई सरकारमा मन्त्री यादवलाई निरन्तरता दिइएकोमा रुष्ट अन्य गुटका नेताहरू त्यस विषयमा केन्द्रीय नेतृत्वसँग गम्भीर चासो राख्ने बताएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले नयाँ गठबन्धन बनेपछि नेकपा एमालेलाई ल्याउनेगरी मन्त्रिपरिषद् पुनर्गठन गर्दा नेकपा माओवादी केन्द्रको संसदीय दलसँग भने परामर्श गरेनन् ।

‘दलका नेता भरतप्रसाद साहसँग मुख्यमन्त्रीले सल्लाह गर्नुभएको छैन । त्यसैले पुनर्गठित मन्त्रिपरिषद्मा मन्त्री सुनिताको पुनरावृत्तिको दलीय स्वामित्व नेकपा माओवादीले लिनसक्ने स्थिति छैन,’ पार्टीका तर्फबाट अघिल्लो प्रदेशसभामा सदस्य रहेका एक नेताले भने ।

उनका अनुसार मन्त्री यादवलाई नयाँ गठबन्धनपछि सरकारमा निरन्तरता दिने वा नदिने विषयमा केही दिनअघि काठमाडौंको सिँहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको प्रदेश तहका नेताहरूको बैठक निष्कर्षविहीन बनेको थियो ।

दोस्रो प्रदेशसभा गठन भएपछि संसदीय दलका नेतामा भरतप्रसाद साह र सरकारमा सुनिता मन्त्री हुने भद्र सहमति भए पनि दलका नेता साहले मन्त्रीका लागि आफ्नै नाउँ सिफारिस गर्दा पार्टी अध्यक्ष दाहालले मुख्यमन्त्री यादवलाई सीधा फोन सम्पर्क गरी यादवलाई मन्त्री बनाउन लगाएका थिए ।

विगतमा भद्र सहमतिविपरीत साह मन्त्री दलका नेतासँगै मन्त्री बन्न खोजेकाले मन्त्री सुनिता असन्तुष्ट रहँदैआएकी छिन् ।

काठमाडौं बैठकमा प्रदेशभित्रको मातृका यादव गुटका जगतप्रसाद यादवलगायतका नेताहरूले नयाँ गठबन्धनको सरकारमा १० प्रतिशत कमिसन उठाने मन्त्रीका रूपमा बदनाम भएकीले सुनितालाई निरन्तरता दिन नसकिने तर्क गरेपछि मन्त्री सुनिता आक्रोशित बनेकी थिइन् ।

बैठकलगत्तै उनले एउटा महिलासँग जुध्न हरेक दृष्टिकोणबाट असफल भएपछि महिलाको चरित्र देखाएर आफ्नो पुरुषार्थ देखाउन खोज्ने प्रवृत्तिलाई गन्दा खेल भनेर सामाजिक सञ्जालमा लेखेकी छिन् ।

दुई दिनअघि सामाजिक सञ्जाल फेसबुकमा उनले त्यस्तो खोज्ने केही व्यक्तिलाई सो गन्दा खेलमा आफैँ कति तल झरिसकेको छु भन्ने कुराको ख्याल नभएको टिप्पणी पनि गरेकी छिन् ।

‘तीतो सत्य, लाजनीति,’ काठमाडौं बैठकमा सहभागी नभएकी मन्त्री यादवले लेखेकी छिन् । उनले काठमाडौं बैठकमा उनीविरुद्ध खनिएका नेता जगतलाई समेत ट्याग गरेकी छिन् ।

प्रदेशमा पार्टी संसदीय दलका नेता साहले एउटा मन्त्रीले सामाजिक सञ्जालमार्फत कुरा राख्दा के र कस्तो शैलीमा राख्दा मर्यादित हुने भन्नेबारे सोच्नुपर्ने बताए ।

फोन सम्पर्कमा नआएकी मन्त्री सुनिताले सामाजिक सञ्जालमार्फत टोलपडोसले गरेको प्रश्नमा त्यो टिप्पणी कसैमाथि लक्षित नभएर सामाजिक नियतमाथि भएको दाबी गरिन् ।

काठमाडौं बैठकमा मन्त्री यादवकी दिदी र पूर्व संघीय राज्यमन्त्री बोधमाया, भरतप्रसाद साह, महेन्द्र पासवान, गोपाल ठाकुर, जगतप्रसाद यादव, अजयशंकर नायक, उमेश यादव, रामकुमार शर्मा, देवशरण यादव, दिलिप साह, इन्दु शर्मालगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH