जब उपकुलपतिको शपथग्रहणमा रजिस्ट्रारले मुन्टो निहुँराए

२०८० चैत्र ६, मंगलवार १४:४२
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.अंकुर साहको शपथग्रहण समारोहमा उँधोमुन्टो लगाएका प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद यादव(दायाँतर्फ अन्तिमबाट दोस्रो) । तस्बिर : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय

टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ चैत ।
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपतिमा नियुक्त प्राध्यापक डा.अंकुर साहको शपथग्रहण समारोहमा प्रतिष्ठानका रजिस्ट्रार डा.विनोद यादव शोकधारण गर्ने मुद्रामा उभिएकामा उनको चर्को आलोचना गरिँदैछ ।

नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चिकित्सक डा.रामकेवल साहको निधनपछि लामो समयसम्म रिक्त कुलपति पदमा नियुक्त डा.अंकुर रेडियोलोजी तथा इमेजिङ्गमा स्नातकोत्तर छन् ।

स्वास्थ्यसेवा तथा चिकित्सा शिक्षा व्यवस्थापनका विज्ञ तथा ती विषयमा नीति निर्माणमा पोख्त डा.साह उपकुलपति नियुक्त हुँदा प्रतिष्ठानले तीव्रताका साथ गति लिने विश्वास गरिएका बेला रजिस्ट्रार यादवले शपथग्रहणमा अशोभनीय हर्कत देखाएका हुन् ।

प्याथोलोजी शैक्षिक पृष्ठभूमिका रजिस्ट्रार डा. विनोद विद्यावारिधि गरेका छन् ।

‘उच्चशिक्षा प्राप्त तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशिक्षा अध्ययन संस्थानमा लामो समय काम गरेका उनलाई सरकारको औपचारिक कार्यक्रमको प्रकृति र त्यसअनुसार शारीरिक व्यवहार गर्ने जानकारी नहुने कुरा नै छैन,’ मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले भने ।

सोमबार प्रतिष्ठानको उपकुलपतिका रूपमा डा.साहलाई मधेश प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति सरोजकुमार यादवले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथग्रहण गराएका थिए ।

औपचारिक समारोहमा तिनका प्रकृतिअनुसार केही प्रक्रियागत कुरा निर्धारण गरिएका हुन्छन् । यसबाहेक हाउभाउका विषयमा नियमन गर्ने कानुनी व्यवस्था नभएकाले उँधोमुन्टो लगाएका रजिस्ट्रार यादवलाई मुन्टो सोझ्याउन आग्रह गर्न नसकिएको ती अधिकारीको भनाइ छ ।

टोलपडोसलाई प्राप्त श्रव्यदृश्य र तस्बिरमा रजिस्ट्रार यादव शपथग्रहण अवधिभर नै टाउको निहुराएका थिए । नेपालको वैदिक तथा लौकिक परम्परामा मुन्टो निहुँराएर शोक व्यक्त गरिन्छ ।

शपथग्रहणका बेला उपस्थित तत्कालीन स्वास्थ्य तथा जनसँख्या मन्त्री वीरेन्द्रप्रसाद सिँह, प्रदेश नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी, प्रदेशका मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुर, प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.रामनरेश पण्डित, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव चन्देश्वर महतो आदिले टाउको उठाएका थिए ।

मधेश प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.भोगेन्द्र झाले कार्यक्रममा अवज्ञा गर्ने नियतले नभए पनि अभ्यास अभाव वा सधैँ हुँदैआएको कृत्य अनुकरण गर्ने क्रममा यस्तो त्रुटि हुने गरेको बताए ।

उनले भने, ‘श्रद्धाञ्जलीमा शिर निहुराउनु विनम्रता हो । तर, शपथग्रहणमा टाउको झुकाउनु असभ्यता ।’

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH