प्रादेशिक अस्पताल जनकपुरलाई हजार बेडको बनाइने

२०८० चैत्र ६, मंगलवार १९:२३

 

मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको कार्यालय र प्रादेशिक अस्पताल जनकपुरको मंगलबार अवलोकनपछि मधेश प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री सरोजकुमार यादवलगायत । तस्बिर : अनिल

टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ चैत ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री सरोजकुमार यादवले मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरलाई हजार शय्याको अस्पतालमा परिणत गरिने बताएका छन् ।

मंगलबार जनकपुरधामस्थित प्रतिष्ठानको कार्यालय तथा अस्पताल अवलोकनपछि निरीक्षणपछि उनले सेवाग्राहीको चापअनुसार प्रादेशिक अस्पतालले प्रदान गर्दैआएको सेवा विस्तार आवश्यक भएकाले आगामी आर्थिक वर्षमा हजार शय्याको प्रादेशिक अस्पताल बनाइने बताएका हुन् ।

‘सरकारी सेवामा पहुँच स्थापित गनुपर्ने दुःखी र पीडितको सँख्या निकै धेरै छ । जसको तुलनामा अस्पतालसँग उपलब्ध शय्या कम छ । त्यसैले जरुरी संरचना, जनशक्ति र उपकरणसहित शय्या बढाउन मन्त्रालय र प्रतिष्ठानका अधिकारीहरूलाई गृहकार्य गर्न भनेको छु,’ मन्त्री यादवले भने ।

उनले अहिले प्रदेश तहबाटै स्वीकृत गर्न सकिने दुई सय शय्याको सो अस्पताल हजार शय्याको अस्पतालमा परिणत गर्न सङ्घीय स्वास्थ्य मन्त्रालयको स्वीकृति आवश्यक भएकाले प्रदेश तथा संघका स्वास्थ्य मन्त्रालयको समन्वयमा शय्या थप गरी काम अघि बढाइने उल्लेख गरे ।

मन्त्री यादवले मधेश प्रदेशबाटै प्रतिनिधित्व गर्ने उपेन्द्र यादव संघीय स्वास्थ्य मन्त्री भएकाले अस्पतालको स्तरोन्नति गर्न सहज हुने पनि बताए ।

प्रादेशिक अस्पताल जनकपुरका लागि दुई सय बेड स्वीकृत भए पनि अहिले तीन सय ४० बेड सञ्चालनमा रहेको छ । प्रतिष्ठानअन्तर्गत अस्पताल आएपछि करिब सय शय्या थप गरिएको प्रतिष्ठानका कुलपति डा.अंकुर साहले बताए ।

अस्पतालमा पछिल्लो समय तीनवटा मोडुलर अपरेसन थिएटर र क्याथल्याब थपिएका छन् ।

अस्पतालमा शय्या थपिएपछि पहिलेदेखि नै सञ्चालनमा रहेका विभिन्न विभागका अतिरिक्त मुटुरोग, क्यान्सर आदिसँगै बिरामीका उपचार तथा मातृशिशुलगायत अन्य सेवा प्रभावकारी बनाउन सकिने उपकुलपति डा.साहले बताए ।

यसैगरी मन्त्री यादवले पछिल्लो दिनमा प्रादेशिक अस्पतालका सेवा व्यवस्थित भएको टिप्पणी गरे । ‘म आज मन्त्री भएको छु । तर, पहिला पनि यहाँ उपचार गराएका छु । अस्पतालको सेवामा सुधार आएको छ,’ उनले भने ।

 

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH