नरेफाँटको भाइयारी जक्सन बन्दैछ उहिलेको पिपलबोट

२०८० चैत्र ७, बुधबार १९:४१
काठमाडौंको नरेफाँटस्थित भाइयारी जक्सनमा चिया खाँदै धनुषाका मनीष र साजिद । तस्बिर : अनिल

टोलपडोस समाचारदाता
काठमाडौं, ७ चैत ।
धनुषाको सबैला नगरपालिका–४ का मनीष महतो चियाका पारखी हुन् । दिनमा कम्तीमा आठ–नौ पटक उनको जिब्रोले चियाको स्वाद खोज्छ । नयाँ बानेश्वर टेक स्पायर बिएस्ससी आइटीको प्रथम सेमेस्टरका विद्यार्थी महतो प्लसटु पढ्न काठमाडौं आएका बेला स्वादिलो चियाको खोजीमा डेरा गरी बस्ने नरेफाँटका वरपरका धेरैवटा पसल चहारे ।

चिया खाने भनेरै टहराझुप्राका साँघुरा पसलदेखि ठूलठूला फराकिला पसलसम्म पुगेका मनीषको चियावास डेढ वर्षयता काठमाडौंको नरेफाँट भाइयारी जक्सनमा भयो । ससाना काठे मेच र कुर्ची लहरै राखिएका र दुवैपट्टिका भित्तामा काला रङका तस्बिर बनाइएका त्यो ठाउँमा लाग्ने भिडले मनीषलाई तान्यो ।

त्यहाँ आउजाउ गर्न थालेपछि उनले थाहा पाए । चिया खान पुग्ने भाइयारी जक्सन साँच्चिकै काठमाडौंका फरकफरक ठाउँका कलेजमा लेखपढ गर्ने अनि छरिएर कामकाज गर्ने मधेसका युवाविद्यार्थीको भेट हुने जक्सन नै रहेछ । चियामात्र पाइने भाइयारी जक्सनमा चियामात्र पाइन्छ । यहाँ दिनहुँ सयौँ युवाविद्यार्थी चियागफका लागि पुग्ने गर्छन् ।

‘मिठो चिया । थपीथपी खाइरहुँजस्तो लाग्ने । त्यसैले हामी यहाँ सधैँ चिया खान आउँछौं,’ धनुषाको औरही गाउँपालिकाका साजिद राइनले भने । कम्प्युटर साइन्समा प्लसटु गरेर उच्चशिक्षाका लागि योजना बुन्दै गरेका राइन पनि केही समयअघि भाइयारी जक्सनमा जोडिन आइपुगेका थिए ।

एकहिसाबले हेर्दा भाइयारी जक्सन घरपरिवारबाट टाढा र पढाइको बोझमुनि थिचिएका तराईमधेशका टिनएजरका लागि मुड फ्रेस गर्ने ठाउँ बनेको छ । फुर्सदिलो हुनेबित्तिकै विद्यार्थीहरू साथीसङ्गातीसँग भेट्न यो ठाउँमा आइपुग्छन् । ‘भेट, कुराकानी र चिया खुवाइ, गजबको अनुभूति सँगाल्ने थलो बनेको छ यो जक्सन,’ राइनले भने ।

जक्सनमा प्रायःजसो ठाउँ पाउन मुश्किल हुन्छ । जक्सनभित्रका क्याबिन, खुला ठाउँ आदि भरिभराउ हुँदा अलिक बेर बालकनीमै पर्खेरै भए पनि ग्राहकहरू चिया पिउँछन् । अन्यत्रभन्दा फरक स्वादकै लागि यस ठाउँमा ग्राहको भिड लाग्नेगर्छ ।

भाइयारी जक्सनमा लेखपढ, घुमघाम, मायापिरतीदेखि घरपरिवार र भविष्यसम्मका कुरा गर्नेहरू भेटिन्छन् । यहाँ आउनेहरूले यसै विषयमा कुरा गर्छु भन्ने नहुन सक्छ । चियाको कप थपिँदै जाँदा बातचितको सन्दर्भ पनि बदलिइरहन्छन् ।

कुनै बेला काठमाडौंमा तराईबाट आउनेहरूका लागि भेटघाट गर्ने ठाउँ नयाँसडकको पिपलबोट थियो । टेलिफोन संवाद गर्न पनि कठिन रहेका बेला चिनजानका मानिस भेट्न मानिसहरू पिपलबोटमै पुग्नेगर्थे । ‘मोबाइल फोन र इन्टरनेटको यो जमानामा बाहिरबाट राजधानी आउने बच्चाका लागि चिया खाँदै भेटघाट गर्ने ठाउँ भाइयारी जक्सन भएको छ,’ चाटर्ड एकाउन्टेन्ट दिपक मिश्रले भने ।

रौतहटको यमुनामाई गाउँपालिका–५ झुनखुन्वाका मामा–भाञ्जाको जोडीले यो जक्सन चलाउँदै आएको छ । मामाको नाउँ रत्नेशकुमार साह हो भने भान्जाको नाम रोहित । चियाचमेनाको काउन्टर मामा रत्नेशले सम्हाल्छन् भने बाहिरभित्रका अन्य व्यवस्थापन भान्जा रोहितले हेर्ने गर्छन् । जक्सनमा एक कर्मचारी पनि छन् । जसको काम भान्सादेखि बाहिरसम्मको हुन्छ ।

गाउँमै प्लसटु सकाएर राजधानी पसेका रोहित क्यानडा, पोल्यान्ड आदि युरोपतिर भासिन खोजेका थिए । उनले कृषिकार्यमा जाने भन्दै भिसा पाउने प्रयास गरिरहेकै बेला जनकपुरधामका दिपक साहले सञ्चालन गरिरहेका भाइयारी जक्सनमा पुगे । चिया खान भनेरै सातआठ पटक त्यहाँ पुगेका रोहितले आँखा चिम्लेर जक्सन नै किने पाँच लाख रुपैयाँमा ।

जक्सन सञ्चालक दिपक अस्टे«लिया जान लागेकाले जक्सन बेच्ने भनेपछि रोहितले धेरै नसोचीकनै यो चियापसल किने ।
उनले जक्सन किनेयता पनि पहिलेझैँ चियापारखीको भिडभाड छ यहाँ । अझ ठाउँ नै कम हुनेगरी भिड बाक्लिदैछ । दिनमा करिब दस हजार रुपैयाँभन्दा बढीको चियामात्र बिक्री हुने जक्सनको घरबहाल मासिक २६ हजार रुपैयाँ छ । यहाँ काम गर्ने एक कर्मचारीको तलब १४ हजार रुपैयाँ प्रतिमहिना ।

नाफा हुन्छ त ? टोलपडोसको प्रश्नमा रोहितले भने, ‘आम्दानी नभए किन चलाउँथे र ? तर त्योभन्दा पनि ठूलो कुरा गाउँघरतिरका साथीभाइ भेट्ने अनि चियासँग गफ गर्ने गतिलो ठाउँ बनाउन पाएकोमा खुसी छु ।’

जक्सनमा चियाको मोल प्रतिकप ३० रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH