जनकपुरधाम : मुखै रसाउने सिर्जनाकाे सेलराेटी

२०८० चैत्र ९, शुक्रबार १९:१३
सेलराेटी पकाउँदै सिर्जना श्रेष्ठ ।

टाेलपडाेस समाचारदाता

जनकपुरधाम, ९ चैत ।

वर्षाैंपछि थाँतथलो जनकपुर टेकेका सञ्जीव उप्रेतीलाई होरीका बेला आलुकेराउको अचारमा चोपेर सेलरोटी खाएको सम्झना आयो ।

घरगोसाइँसहित काठमाडौं बसाइ सरेको दुई दशकपछि उनी बचेखुचेका जग्गा सल्टाउन शुक्रबार जनकपुरधाम आएका थिए । जुँगाको रेखी बस्दासम्मको सहर जनकपुरधाममा उनले हरेकजसो पर्वतिहारमा रमाए । दसैं, दिपावली र होलीमा सेलरोटीको स्वाद पनि यहाँ नै उनको जिब्रोमा बस्यो ।

राजधानी बसाइ सरेपछि त धार्मिक तथा साँस्कृतिक उत्सवमा मात्र नभएर बिहानबेलुका नै उनको खान्की बन्यो सेलरोटी । काठमाडौंका चियाखाजा पसलमा सजिलै पाइने सेलरोटी खान उनले कहिल्यै छुटाउँदैनन् । तर, यो रोटी जनकपुरमा भने उप्रेतीलाई खोज्न धौधौ नै पर्याे ।

नेपालीभाषीको बाक्लो बस्ती हुँदाको दुई दशकअघिसम्म घरदेखि पसलसम्म पाइन्थ्यो सेलरोटी । अचेल भने पाउन मुश्किल छ । सेलरोटी पकाउने विधि राम्ररी जान्ने पहाडीमूलका व्यक्तिको घट्दो सँख्याले जनकपुरका थोरै ठाउँमा मात्र यो परिकार किन्न पाइन्छन् ।

केही सरकारी कार्यालय वरपरका खाजा पसलमा अझै सेलरोटी बनाउने गरिएको भेउ पाएका उप्रेतीले विषहरा पोखरीनजिकको जिल्ला प्रहरी कार्यालयछेउ पुगे । त्यहाँको एउटा खाजा पसलमा पुगेर सेलरोटी खान भ्याए ।

“जानकी मन्दिरको दर्शन अनि सेलरोटीको स्वादमा मैले बाल्यकालको जनकपुर भेटाएँ । साथीसँगातीजति सबै अन्यत्र सरिसकेका भए पनि सेलको साथले जनकपुर बिरानो लागेन,” टोलपडोससँग उनले भने ।

जनकपुरधाममा तीन–चार ठाउँमा मात्र सेलरोटी पाइन्छन् । तीमध्ये एउटा ठाउँ हो, जिल्ला प्रहरी कार्यालयको पूर्वपट्टि र महेन्द्रनारायण निधि साँस्कृतिक केन्द्रको प्रवेशद्वार सामुन्ने सिर्जना श्रेष्ठको पसल ।

प्रहरी कार्यालय आउने सेवाग्राहीलाई चियाखाजा र खाना पाउने यो पसलमा आठवर्ष भयो सेलरोटी पकाउन थालिएको । “सबै उमेरका ग्राहकले सेलरोटी खान रूचाउँछन् । तात्ततातै खान अलिक बेर रूँगेर पनि उनीहरू सेलरोटी खान्छन्,” पसल सञ्चालक सिर्जना श्रेष्ठले भनिन् ।

“सिर्जनाबैनीको सेलले मुखै रसाउँछ । अनि नखाई हुन्छ,” जनकपुरधाम–७ का दिपेन्द्रकुमार यादवले भने ।
यातायातसम्बन्धी प्रशिक्षण कार्यमा संलग्न उनी प्रहरी कार्यालय भएर आउजाउ गरिरहँँदा दिन नबिराई सिर्जनाको पसलमा सेलरोटी खाने गर्छन् । अझ उनले चामलको पिठोबाट बनेको यो परिकारको स्वाद चखाउन धेरै साथीभाइलाई सिर्जनाको पसलसम्म लिएर पुगिसकेका छन् ।

सिर्जनाको सेलरोटी जनकपुरका मैथिलीभाषीबीच पनि लोकप्रिय छ । सीमावर्ती भारतीय क्षेत्रका पर्यटक पनि जनकपुरधाम आउँदा कतिपय अवस्थामा सेलरोटी खोज्दै सिर्जनाको पसलसम्म पुग्नेगर्छन् ।

चामलको पिठो, घ्यूचिनी मिसाई पानीको लेसिलो तताएको घ्यूतेलमा गोलाकार पारेर पकाइएको सेलरोटी जनकपुरको रैथाने परिकार होइन । तर, स्वादका कारण हिजोआज धेरैको रोजाइमा पर्न थालेको छ ।

सिर्जनाको पसलमा एउटा सेलको तीस रूपैयाँ पर्छ । दुइटाको साठी रूपैयाँ । दुइटा सेलरोटीमा अचार भने सित्तै पाइन्छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH