काँग्रेसले फिर्ता लियो सरोज सरकारलाई दिएको समर्थन
टोलपडोस समाचारदाता
जनकपुरधाम, ९ चैत । जनता समाजवादी पार्टी(जसपा) नेपाल नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेपाली काँग्रेसले शुक्रबार फिर्ता लिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार सरकार पुनर्गठन गरी काँग्रेसका तीन मन्त्रीलाई हटाउँदै नेकपा एमालेलाई भित्र्याएपछि काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र लेखेर काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले संविधानको धारा १६८ अनुसार प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि दिइएको समर्थन आजकै मितिबाट फिर्ता लिइएको जानकारी गराएको छ ।
काँग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवलाई प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । उनले तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।
प्रदेशसभामा काँग्रेसका २२ सदस्य छन् ।
संघमा बनेको नयाँ सत्ता गठबन्धनमा सामेल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) र गठबन्धनबाहिरका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल अहिले मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा सहभागी छन् ।
नयाँ सत्ता गठबन्धन दलभित्रको एमालेले मन्त्रीका नाउँ नदिँदा चार मन्त्रालय भागमा परेको भनिए पनि तीन मन्त्रालयसहित पार्टी संसदीय दलका नेता सरोजकुमार यादव सरकारमा सहभागी छन् ।
अन्य दलबाट पुरानै मन्त्रीलाई निरन्तरता दिइएको छ ।