भारतको सहयोगमा महाविहारको पुनर्निर्माण सम्पन्न
टोलपडोस समाचारदाता
जनकपुरधाम, ९ चैत । नेपालको साँस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नयाँ भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
सहरी विकास मन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सो महाविहारको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा मन्त्री बुढाले भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षका रूपमा रहेको उल्लेख गरे ।
उनले भारत र नेपालको ऐतिहासिक साँस्कृतिक समानता र सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक भएको भन्दै यस्ता सम्पदा क्षेत्रको पुनस्र्थापना गर्ने साझा प्रयास रहेको बताए । उनले भने, ‘यो हातेमालोले दुई देशबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै यसले हाम्रो साझा साँस्कृतिलाई पनि प्रतिबिम्बित गर्दछ ।’
कार्यक्रममा ललितपुर विकास समाजका अध्यक्ष बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता इन्ट्याकका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरूको उपस्थिति थियो ।
नेपालको साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत निर्माण भएको सो परियोजनाका लागि भारत सरकारले करिब १३ करोड ७८ लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको जेष्ठ वर्ण महाविहारको पुनर्निर्माण परियोजना सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले कार्यान्वयन गरेको हो ।
भारत सरकारले नेपालका ७ जिल्लाका २८ वटा साँस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ ।
यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा पचास हजार निजी आवास, आठवटा जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा दशवटा जिल्लामा एक सय ३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ ।
परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा टेवा पुर्याएको छ ।