कृषि विश्वविद्यालय सप्तरीको सभा जनकपुरमा
टोलपडोस समाचारदाता
जनकपुरधाम, ९ चैत । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश कृषि विश्वविद्यालयका पदाधिकारीहरूलाई वैज्ञानिक खेतीका लागि उन्नतबाली एवं प्रविधिविकासमा जोड दिन निर्देशन दिएका छन् ।
मधेश कृषि विश्वविद्यालयको जनकपुरधाममा शुक्रबार आयोजित तेस्रो विश्वविद्यालयसभामा मुख्यमन्त्री यादवले कृषि नै मुख्य आधार रहँदैआएको मधेश प्रदेशमा स्थापित कृषि विश्वविद्यालयले प्रदेशका किसानलाई जीविकोपार्जनमुखी, व्यवसायिक एवम् वैज्ञानिक कृषिकार्य गर्न प्रविधीको विकासमा जोड दिनुपर्ने उल्लेख गरे ।
उनले भने, ‘हाम्रो मुलुक नै कृषिप्रधान हो, त्यसमा पनि मधेश प्रदेशको अर्थव्यवस्था कृषिमा नै आधारित छ । त्यसैले हाम्रौ गौरवको योजनाका रूपमा रहेको मधेश कृषि विश्वविद्यालयले माटो सुहाउँदो प्रविधिको विकास गर्नुको विकल्प छैन ।’
उनले कृषिक्षेत्रमा भइरहेको ह्र्रासलाई नियन्त्रण गर्दैै वैज्ञानिक कृषिका लागि विश्वविद्यालयले गर्ने अनुसन्धानलगायत कार्यमा सहयोग गर्न प्रदेश सरकार हरसम्भव तयार बताए ।
कृषिको विकासबिना मधेश प्रदेशको विकास सम्भव नरहेको भन्दै मुख्यमन्त्री यादवले विश्वविद्यालयले दक्ष प्राविधिक उत्पादनमार्फत उन्नतबाली तथा र प्रविधिविकासमा जुट्नुपर्ने उल्लेख गरे ।
सो विश्वविद्यालयसभाले विश्वविद्यालयले अहिलेसम्म गरेका कार्यको अनुमोदन गर्नुका साथै अगामी दिनमा विश्वविद्यालय सञ्चालनलगायत विषयमा नीतिनियम पारित गरेको छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री यादवको अध्यक्षतामा भएको सभामा उपकुलपति डा वैद्यनाथ महतो, सभाका सदस्यहरू नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुराम चौधरी, मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुर, जागेश्वर यादव, डा. प्रकाशकुमार यादव, कृषि वैज्ञानिक उर्मिला साह, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतो, प्राडा कन्हैयाप्रसाद सिंह, रजिस्ट्रार भगवान ठाकुरसहितका व्यक्तिको उपस्थिति थियो ।