मधेश प्रदेशमा मन्त्री बनाउन चलेन रघुवीर महासेठको जादु
टोलपडोस समाचारदाता
जनकपुरधाम, १० चैत । शनिबार मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने चर्चा चुलिएसँगै नेकपा एमालेका प्रदेशसभा सदस्य शारदादेवी थापालाई बधाईको ओइरो लाग्यो । बधाई दिनेमा पार्टीका सबै तहका नेताकार्यकर्ता थिए । उनीनिकटका व्यक्तिहरू खुसी र उत्साहित देखिन्थे । सामान्य र सहज भएर थापाले पनि मन्त्री पदमा औपचारिक रूपमा नियुक्त भएको खबर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आउने प्रतीक्षा गरिरहेकी थिइन् ।
तर, निकै ढिलासम्म शपथग्रहणबारे जानकारी नआएपछि उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फोन नै गरेर त्यस विषयमा सोधिन् । त्यहाँबाट मन्त्रीहरूको सूचीमा आफ्नो नाउँ नरहेको उनले थाहा पाइन् ।
मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको गत सोमबार नै स्वास्थ्य तथा जनसँख्या मन्त्रीको शपथ लिने भनिएकी प्रदेशसभा सदस्य थापा शनिबार सरकार विस्तार हुँदा मन्त्री बन्न पाइनन् । शनिबार नेकपा एमालेका तर्फबाट मन्त्री बनेकाहरूमा उनको नाउँ अटाएन ।
नेकपा एमाले संसदीय दलबाट प्राप्त सिफारिसका आधारमा मन्त्री नियुक्त गरिएका पत्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अत्यन्त गोप्य तरिकाले प्रदेश प्रमुखकहाँ पठाएको थियो । शपथग्रहणअघि मुख्यमन्त्रीनिकटका धेरैजसो नेताकार्यकर्ता र अधिकारीहरू मन्त्री बन्नेहरूका विषयमा जानकार थिएनन् ।
शपथग्रहणपछि मात्र पार्टीको सुरुको सूचीमा सामेल राजकुमार लेखी र शत्रुधनसिँह कोइरीले मात्र शपथ लिएको जानकारी सार्वजनिक भयो । यद्यपि थापाले भने विभिन्न ठाउँबाट बधाई आउन थालेपछि आफूले मुख्यमन्त्री कार्यालयबाट शपथग्रहणअघि नै मन्त्री बन्नेका नाम थाहा पाइसकेको बताइन् ।
शनिबार पार्टीका तर्फबाट मन्त्री बन्नेहरूको शपथग्रहण हुनेबारे पार्टी संसदीय दलबाट समेत उनलाई खबर भएन । मन्त्री पदको शपथ लिनेबाहेक पार्टीका धेरै प्रदेशसभा सदस्य शपथग्रहणका बारेमा बेखबर नै रहे ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवकै आग्रहमा मन्त्री बन्नेको सूची शपथग्रहणअघि सार्वजनिक नगरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । उनले भने, ‘मन्त्री नियुक्तिको जानकारी प्रदेश प्रमुखलाई गराइसकेपछि सामान्यतया आधिकारिक वा अन्य तरिकाले कार्यभारसहित मन्त्री बन्ने सूची सार्वजनिक हुन्छ । तर, आज त्यस्तो नगर्न माथिबाटै निर्देशन थियो ।’
ती अधिकारीले माथि भनेको मुख्यमन्त्री यादवले नै सूचना नचुहाउन निर्देशन दिएको भन्ने थियो ।
स्रोतका अनुसार नेकपा एमालेभित्रको दलीय द्वन्द्वले गर्दा अन्तिम समयमा आएर थापाको नाउँ मन्त्री बन्ने सूचीबाट बाहिरियो ।
महिला, दलित र जनजाति सबै कलस्टर मिलाएर प्रदेशसभा सदस्यलाई सरकारमा पठाउने तयारीमा रहेको पार्टीले पहिलो सूचीमै थापाको नाउँ राखेको थियो । तर, कलस्टर मिलाउने नाममा पार्टीभित्रको एउटा गुटले कोटाका नाउँमा लखनदास तत्मालगायत अन्य नाउँ अघि सारेपछि उत्पन्न अन्योलका बीच गत सोमबार पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले मात्र शपथ लिएका थिए ।
त्यसलगत्तै राजधानी पुगेका दलका नेता यादवले केन्द्रीय नेतृत्वसँग मन्त्री छनोटको मापदण्ड नै परिवर्तन गर्न लगाई अहिले मन्त्री बनेकाहरूको नाउँ छनोट गरेका हुन् । उनले यसअघि मधेश सरकारमा सामेल भएका तर काम गर्न नसकेका मन्त्रीहरू लेखी, कोइरी र राज्यमन्त्री बनेका रायलाई दोहोर्याउने टुंगो लगाएका थिए । त्यस्तै उनले संघीय मन्त्री नरहेको जिल्लाबाट मन्त्री बनाउने, नवप्रवेशीलाई हौसला दिन सरकारमा लग्ने भन्दै प्रमोद जायसवाललाई मन्त्री बनाएका छन् ।
स्वतन्त्र हैसियतमा जितेका जायसवाललाई पार्टीमा संसदीय दलका नेता यादवले नै भित्र्याएका थिए । मन्त्री बनेका लेखी पहिले मन्त्री भइसकेकालाई दाहोर्याउने मापदण्डमा परेका हुन् । उनलाई मन्त्री बनाउन पार्टी नेता सुमन प्याकुर्यालको दबाबसमेत थियो ।
मन्त्री बनाउने पछिल्लो मापदण्डमा संघीय मन्त्री भएको जिल्ला र सरकारमा पार्टीको नेतृत्व गरेर जाने मन्त्रीका जिल्लाबाट प्रतिनिधित्व नगराउने भन्ने थियो । मन्त्री पदका लागि चर्चामा रहेकी थापा महोत्तरी जिल्लाबाट प्रदेशसभा सदस्य हुन् । महोत्तरीकै अर्का प्रदेशसभा सदस्य सरोज सरकारमा पार्टीको नेतृत्व गर्दै सम्मिलित छन् । दास धनुषाबाट प्रदेशसभा सदस्य हुन् । धनुषाबाट पार्टीको नेतृत्व गर्दै रघुवीर महासेठ संघ सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् ।
थापा र दास दुवै धनुषा गृहजिल्ला भएका पार्टीका केन्द्रीय नेता रघुवीर महासेठनिकट मानिन्छन् ।
प्रदेशसभा सदस्य थापाले मन्त्रिपरिषद्मा विगतमा काम गर्न नपाएका र नवप्रवेशीले ठाउँ पाएको बताइन् । उनले भनिन्, ‘मन्त्री बन्ने आशा छ, गुनासो छैन ।’