परिक्रमावासी जनकपुर आउँदै, भोलि अन्तःगृह प्रदक्षिणा
टोलपडोस समाचारदाता
जनकपुरधाम, ११ चैत । मिथिलाञ्चलको धार्मिक तथा साँस्कृतिक महत्वको प्रसिद्ध मध्यमाध्यमिकी परिक्रमा आइतबार जनकपुरधाम आइपुगेको छ । १५ दिनअघि सुरु भएको परिक्रमा भोलि सोमबार जनकपुरधामको अन्तःगृह प्रदक्षिणा गरी समापन हुनेछ ।
परिक्रमावासीले अन्तःगृह प्रदक्षिणा गरेको भोलिपल्ट जनकपुरधाममा होली मनाउने परम्परा छ ।
फागुनको औंसीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरीका विभिन्न स्थान गरी ९० किलोमिटर र भारतीय राज्य विहारको सीमावर्ती क्षेत्रका ३० किलोमिटर गरी एक सय २० किलोमिटरको दुरीमा साधुसन्त, गृहस्थलगायतका श्रद्धालुभक्तजनले रामजानकी डोलासँगै पदयात्रा गर्ने गर्दछन् ।
यस परिक्रमामा नेपालको भूमिमा १३ र भारतीय क्षेत्रमा दुई गरी कुल १५ विश्रामस्थल छन् ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा रहेका चार शिवालयहरू कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ ।