होली पर्व सहजीवनको सामाजिक सन्देश हो : मुख्यमन्त्री यादव
टोलपडोस समाचारदाता
जनकपुरधाम, ११ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आपसी भाइचारा र सद्भावका रूपमा मनाइने रंगको पर्व होलीलाई एकता र मिलनको पर्व पनि भनेका छन् ।
होलीका अवसरमा आइतबार बिहान शुभकामना सन्देश दिँदै मुख्यमन्त्री यादवले अलगअलग जाति, वर्ग र समूहका मानिसलाई बिना कुनै भेदभाव एकसुत्रमा बाँध्ने र संगसँगै ल्याउने होली खुसी र उत्साहको अवसरका साथै प्रेम र भ्रातृत्वको पनि पर्व भएको उल्लेख गरेका छन् ।
वर्षभरिका मनोमालिन्य बिर्सेर भलाकुसारी गर्ने र दिल मिलाउने पर्व फागु भएको भन्दै उनले होली अधर्म र असत्यमाथि सत्यको विजयको पर्व भएको थपेका छन् । उनले भनेका छन्, ‘आपसी सम्बन्ध अति कटु र तनावपूर्ण हुंदै गएको आजको परिप्रेक्ष्यमा होलीको सामाजिक सहजीवन र सहजीकरणको सन्देश अतिमहत्वपूर्ण रहेकाले सबैमा सामाजिक सद्भाव, आपसी प्रेम एवम् एकताका लागि आह्वान समेत गर्दछु ।’
मुख्यमन्त्री यादवले जनकपुरधामको ऐतिहासिक मिथिला मध्यमा परिक्रमामा सहभागी भएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा शुभकामनासमेत व्यक्त गरेका छन् ।