अन्तःगृह परिक्रमाको उल्लास, जनकपुरमा होली भोलि(तस्बिरसहित)

टोलपडोस समाचारदाता
जनकपुरधाम, १२ चैत । जनकपुरधामको वृत्ताकारमा प्रदक्षिणा गरिने अन्तःगृह परिक्रमा आज सोमबार हुँदैछ । १५ दिने मिथिला माध्यमिकी परिक्रमावासीसहित जनकपुरधामका सर्वसाधारण समेत अन्तःगृह परिक्रमामा सहभागी छन् ।
एकदिने अन्तःगृह परिक्रमासँगै आजै मध्यमाध्यमिकी परिक्रमाको समापन हुनेछ । जनकपुरधाम र वरपरका क्षेत्रमा अन्तःगृह परिक्रमाको भोलिपल्ट होली मनाउने चलन छ ।
पञ्चकोसी परिक्रमा भनेर चिनिने अन्तःगृह परिक्रमामा आइतबार मध्यरातिपछि नै परिक्रमावासी साधुसन्त, गृहस्थ र हजारौँको सँख्यामा स्थानीय नरनारी श्रद्धा तथा भक्तिभावका साथ नगर प्रदक्षिणा गरिरहेका छन् ।
स्थानीय बाह्रबिघा र विभिन्न मठमन्दिरका प्राङ्गनमा रात्री विश्राम गरेका श्रद्धालुभक्तजन आज जनकपुरधामका विभिन्न सरोवरमा पवित्र स्नान गरी परिक्रमामा सहभागी भइरहेका छन् ।
धर्मग्रन्थका अनुसार मिथिलामा तीन किसिमका परिक्रमा प्रचलित छन् । बृहत्, मध्यमाध्यमिकी र पञ्चकोसी । बृहत् र १५ दिने मध्यमाध्यमिकी परिक्रमामा सहभागी हुन नसक्नेहरूले पञ्चकोसी परिक्रमा गरेर अन्य परिक्रमा गर्दासरहको पुण्य आर्जन गर्ने लोकविश्वास रहेको छ ।

तस्बिरहरू : किशन साह
आवरण तस्बिर सौजन्य : सुरेश यादव