प्रादेशिक अस्पताल जनकपुर : बाहिरबाट चिटिक्क, भित्र ‘गुँहारी’
टोलपडोस समाचारदाता
जनकपुरधाम, १२ चैत । प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रीसमेतको जिम्मेवारी पाएका बेला गत मंगलबार भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले अस्पताल परिसरमै भने, ‘पहिलेभन्दा अस्पतालको सरसफाइको अवस्थामा सुधार आएको छ ।’ विभागीय मन्त्रीको सकारात्मक टिप्पणी सुनेपछि अस्पतालका निर्देशक डा रामनरेश पण्डितले मात्र हैनन्, अस्पताल सञ्चालन स्वामित्व बोकेको मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपति डा.अंकुर साह र रजिस्ट्रार डा.विनोद यादवले छाती तनक्क तन्काए ।
तर, वाक्यमा फुलबुट्टा भरेर अस्पताल सुधारोन्मुख भएको अभिव्यक्ति मन्त्री यादवले दिएको केही दिन नबित्दै बिरामीको शारीरिक, मानसिक र सामाजिक दशा बिगार्नेगरी अस्पतालभित्रका शौचालयका तस्बिर सार्वजनिक भएका छन् । ‘अस्पताल मन्त्रीको बोलीमा सुध्रियो, अस्पतालचाहिँ रोगी नै रहेछ,’ जकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का मोहम्मद खालिदले भने ।
प्रसूतिगृह, मेडिकल वार्ड, बच्चा वार्ड, उपचार तथा निगरानीका लागि रहने सघनकक्ष एचडियु, एकद्वार संकट व्यवस्थापन केन्द्रजस्ता संवेदनशील एकाइ रहेको अस्पताल भवनभित्रका बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालय गत दस दिनदेखि मलपानीबाट भरिभराउ छन् ।
शौचालयका सिटहरू मलपुरित हुँदा पनि विकल्पबारे जानकारी नहुँदा अस्पतालका महिला र पुरुष दुवैका लागि छुट्टाछुट्टै बनाइएका ती शौचालय प्रयोग गर्न बिरामी तथा कुरुवा बाध्य छन् । दस दिनभन्दा बढी समययता शौचालयमा मल भरिए पनि सरसफाइका लागि अस्पताल प्रशासनले तत्परता देखाएको छैन ।
‘अस्पताल भवनको मर्मत, रंगरोगन र परिसरमा सतह पक्की गर्नुका साथै फुलगमलासहितको संरचना बनाएर बाहिरबाट चिटिक्क देखिएका अस्पताल भित्रपट्टि दुर्दशाबाट गुज्रिएको छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘विभागबाट अन्यत्र सरुवा गरिदिने वा अन्य सुविधाबाट वञ्चित हुने डरत्रासले वार्डमा खटिने दैनिक ज्यालादारी, करार आदिका कर्मचारीले बेथिति सहेर बस्छन् । कथंकदाचित त्यसबारे जानकारी गराए पनि सुनिँदैनन् ।’
ती कर्मचारीका अनुसार दसदेखि सतहमै मल आएपछि शौचालयबारे बाहिर कुरा आए पनि गत चार महिनादेखि नै शौचालय दुरवस्थामा छ ।
टोलपडोसले शौचालयका तस्बिर प्रतिष्ठानका उपकुलपति डा.साहलाई पठाएको केही बेरमै शौचालयमा ताल्चा लगाइएका छन् । डा.साहले तत्काल स्विपर पठाएर समस्या समाधान गरिने बताए ।
शौचालय मलपुरित भएपछि अस्पताल भवनमा दुर्गन्ध फैलिएको छ । बिरामी र कुरुवा नाक थुन्न बाध्य छन् । दुर्गन्धको मारमा अस्पतालमा काम गर्ने जनशक्ति पनि छन् ।
जनस्वास्थ्यविज्ञ विजयकुमार झाका अनुसार मलपुरित सिट भएका शौचालय प्रयोग गरेमा वा पानीसँग मल सतहमा पौडिन थालेमा मलमा रहने हैजा, टाइफाइड, हेपाटाइटिस, झाडापखाला, आउरगत, पोलियोजस्ता रोगको संक्रमण फैलिन सक्ने खतरा रहन्छ ।
उनले बिग्रिएका बेला ट्वाइलेट खुला राख्दा मिथेन, कार्बनडाइक्साइडजस्ता हानीकारक ग्यासको सम्पर्कमा आएर व्यक्ति थप बिरामी बन्नसक्ने जानकारी दिए ।
‘गन्धले बिरामीलाई भोक लाग्दैन, निद्रा लाग्दैन, झर्किने बनाउँछ र उनी धेरै समय अस्पतालमा बस्न चाहँदैनन्,’ जनस्वास्थ्यविज्ञ झाले भने, ‘यसले अस्पतालमा कार्यरत जनशक्तिको काम गर्ने क्षमतासमेत घट्छ ।’