मधेश प्रदेश सरकारमा लोसपा रहिरहन्छ : लोसपा प्रवक्ता डा.लाभ

२०८० चैत्र १४, बुधबार ११:४३
डा.आभास लाभ, प्रवक्ता, लोसपा नेपाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, १४ चैत ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको भाषा र व्याकरण बिग्रिँदै गएकाले देशमा कृत्रिम र अस्वीकार्य सत्ता समीकरणको अभ्यास भइरहेको बताएका छन् ।

बुधबार टोलपडोससँग कुरा गर्दै प्रवक्ता लाभले सत्ता समीकरण बनाइरहँदा सामाजिक र नैतिक रूपमा निषेधित वा वर्जनायोग्य सम्बन्धका बीच पनि साइनो जोडिने गरेकाले देश दुरवस्थामा पुगेको टिप्पणी गरे ।

‘नैतिक धरातल मक्किएपछि देश, समाज वा व्यक्तिको उँधो लाग्छ । आज देश अव्यवस्थित अराजक हुँदै जानुका पछाडि नैतिकताको ह्रास नै हो,’ उनले भने ।

उनले राज्यसत्ता सञ्चालनको पौराणिक र प्रमाणिक एवम् आधारभूत पाणिनीकृत व्याकरण पनि नेपालको सत्ता समीकरणका सन्दर्भमा ओझेलमा पारिएको चर्चा गर्दै राजनीतिमा अनैतिक सुविधा खोज्ने र अनुचित कामना पुरा गर्नेहरू बलशाली हुँदा देशमै सिद्धान्त, मूल्यमान्यता र आदर्शको सीमोन्नयन हुन नसकिरहेको अवस्था रहेको बताए ।

प्रमाणिक र विश्वसनीय रेखाबाट राजेताहरू हटक भएपछि देश दुर्घटनामा जाने अवश्यम्भावी भएको उल्लेख गर्दै प्रवक्ता डा.लाभले दुर्घटनै दुर्घटनाको बोझ थेग्न नसकी देश मध्यावधिको ठूलो दुर्घटनामा जाने प्रस्ट्याए ।

देशमा उत्पन्न विषम तथा दुरुह परिस्थितिका आकार, प्रकार र लहरलाई लोसपाले नजिकबाट अवलोकन तथा अध्य्यन गरिरहेको बताउँदै डा.लाभले राजनीतिलाई लयमा फर्काउन उपयुक्त समयमा पार्टीले सही निर्णय गर्ने बताए ।

उनले संघीय सत्ता गठबन्धनको क्यान्सर प्रदेश तहसम्म पुगिनसकेकाले मधेश प्रदेश सरकारमा लोसपा तत्काल रहिरहने पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH