स्वास्थ्यक्षेत्रको सुधार तीव्र बनाउन मुख्यमन्त्रीलाई पूर्वमन्त्री सिँहले दिए सुझाव

२०८० चैत्र १९, सोमबार २२:००
स्वास्थ्यक्षेत्र सुधारलाई तीव्रतर बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई १२ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै पूर्वमन्त्री एवम् नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिँह ।

टोलपडोस समाचारदाता
जनकपुरधाम, १९ चैत । मधेश प्रदेशका पूर्वमन्त्री वीरेन्द्रप्रसाद सिँहले प्रदेशमा तीव्रतर बनेका स्वास्थ्य क्षेत्रका सुधार सरकार पुनर्गठनपछि एक्कासि अवरुद्ध भएको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवलाई गराएका छन् ।

केही दिनअघि सरकार पुनर्गठन भई नेकपा एमाले सम्मिलित हुनुपूर्व स्वास्थ्य तथा जनसँख्या मन्त्री रहेका नेपाली काँग्रेस संसदीय दलका उपनेता सिँहले सोमबार मुख्यमन्त्री यादवलाई भेटेर १२ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

पत्रमा पूर्वमन्त्री सिँहले स्वास्थ्य क्षेत्र सुधारका कार्य तीव्र गतिमा अगाडि बढिरहेका बेला सरकार पुनर्गठन भएपछि सरकारको गतिमा अवरोध उत्पन्न भएको उल्लेख गर्दै त्यसबाट सरकारका चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नै असफल हुने जनाएका छन् ।

उनले केही व्यक्तिको निहित स्वार्थ पूर्तिका लागि सरकार पुनर्गठन हुनेगरी अचानक राजनीतिक उथलपुथल भएको दाबी पत्रमा गरेका छन् ।

मन्त्रालय र मातहतका कार्यालयहरूमा समयमा मन्त्री तथा कर्मचारी नबस्ने र मन्त्रालय एवम् कार्यालयहरू सुनसान देखिने कुराले सरकारप्रति जनतामा नकारात्मक सन्देश प्रवाहित भई वितृष्णा बढिरहेको र यसले प्रदेशका स्वास्थ्य क्षेत्रमा भइरहेका प्रगति गुम्ने चिन्ता निम्त्याएको पत्रमा लेखेका छन् ।

ध्यानाकर्षण पत्रमा पूर्वमन्त्री सिँहले निःशुल्क प्राप्त हुने प्रवद्र्धनात्मक, प्रतिकारात्मक, निदानात्मक र पुनःस्थापनात्मक सेवाका अतिरिक्त अन्य विशिष्ठ स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच, गुणस्तर र उपभोग कायम गराउने दायित्व सरकारकै भएको स्मरण गराएका छन् ।

प्रदेश सरकारको.आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा गुणस्तरीय स्वास्थ्य सेवाप्रवाह, सहज पहुँच र उपभोगवृद्धिका योजनाबद्ध विषयवस्तु समेटिएको र यसले मानवविकास सूचकांकमा प्रदेशको अवस्था बलियो बनाउने अपेक्षा गरिएको पनि उनले पत्रमा भनेका छन् ।

पूर्वमन्त्री सिँहले प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटबाट यसै आर्थिक वर्षमा सम्पन्न हुनेगरी तीव्र गतिमा अगाडि बढेका कार्यहरू सुचारु गर्न यथाशीघ्र प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

पत्रमा मन्त्री सिँहले स्तरोन्नति भई सञ्चालन स्वीकृतिका लागि प्रदेश मन्त्रिपरिषद्मा पेस भएका अस्पतालहरूको सञ्चालन अनुमति यथाशीघ्र प्रदान गरी संचालन गर्न र स्तरोन्नति भएका अस्पतालहरूका लागि चाहिने जनशक्ति चिकित्सक, स्वास्थ्यकर्मीको विज्ञापन भई केहीको लिखित परीक्षा र केहीको मौखिक परीक्षा समेत भइसकेकाले यथाशीघ्र छनोट प्रक्रिया प्रारम्भ गरी ती अस्पतालहरूमा चिकित्सक र स्वास्थ्यकर्मी पठाई अस्पताल सञ्चालन गर्न सुझाएका छन् ।

आठवटै जिल्लाका प्रादेशिक अस्पतालमा गुणस्तरीय र व्यवस्थित ढङ्गले पिसिआर, ब्लड बैंक र डायलासिस सञ्चालन गर्न चाहिने आवश्यक जनशक्ति प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएर विज्ञापन भई मौखिक परीक्षा समेत भइसकेकाले सो जनशक्ति छनोट गरी यथाशीघ्र सम्बन्धित अस्पतालमा पठाउन आग्रह गरिएको पत्रमा स्तरोन्नति भएका अस्पतालमा नभई नहुने उपकरणका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक बजेट माग भई अर्थ मन्त्रालयमा गइसकेकाले सोको यथाशीघ्र खरिद प्रक्रिया अगाडि बढाई उपकरण सम्बन्धित अस्पतालमा पठाउन ध्यानाकर्षण गराइएको छ ।

पत्रमा मन्त्री सिँहले मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा सञ्चालन प्रक्रियामा रहेका एमआरआई, क्याथल्याब, मोडुलर ओटी, कार्डियाक युनिट, बर्न युनिट, न्युरो युनिट यथाशीघ्र सञ्चालनमा ल्याई सुविधासम्पन्न अस्पताल बनाएर एमबिबिएस सञ्चालन गर्न मुख्यमन्त्रीको ध्यानाकृष्ट गराएका छन् ।

उनले सय बेडमा स्तरोन्नति भएका अस्पतालहरू यथाशीघ्र सञ्चालन गरी प्रत्येक अस्पतालमा नर्सिंग कोर्स संचालन गर्न र १० बेडमा स्तरोन्नति भएका सर्लाही र पर्सा जिल्लाका प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई यथाशीघ्र व्यवस्थित ढंगले सञ्चालन गर्न मागसमेत गरेका छन् ।

महामारी नियन्त्रणका लागि प्रक्रियामा रहेका बारा जिल्लाको झिटकैयामा सरुवारोग अस्पताल यथाशीघ्र निर्माण गर्न र प्रक्रियामा रहेका सर्लाहीको गंगापुर प्रादेशिक आयुर्वेद अनुसन्धान केन्द्रको निर्माण कार्य यथाशीघ्र अगाडि बढाउन पत्रमा भनिएको छ ।

प्रदेशभित्रका वृद्धाश्रम, बालआश्रम र मानवसेवा आश्रममा आश्रित परिवारलाई त्यहीँ पुगेर स्वास्थ्यसेवा प्रदान गर्न प्रक्रियामा रहेका घुम्ती स्वास्थ्य सेवा यथाशीघ्र सञ्चालन गर्न र मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गत छुट्टै क्यान्सर अस्पतालका लागी बजेट सुनिश्चित भई लागतअनुमान समेत तयार भइसकेको र आठवटै जिल्लामा स्तरोन्नति भएका तथा नयाँ संचालन गर्ने लक्ष्य रहेका विभिन्न अस्पतालको भौतिक पूर्वाधार निर्माण गर्न बजेट सुनिश्चित भई लागतअनुमान समेत तयार भइसकेका भवनको यथाशीघ्र खरिद प्रक्रिया आगाडि बढाई निर्माण कार्य सुरु गर्न पत्रमा भनिएको छ ।

ध्यनाकर्षणपत्रमा प्रदेशका आठवटै जिल्लामा निर्माणाधीन नयाँ र अधुरा गरी चार सय १९ वटा बर्थिङ सेन्टर र स्वास्थ्य चौकीलगायतका भवन निर्माण गुणस्तरीय र तीव्र ढंगले सम्पन्न गर्न पनि उल्लेख छ ।

उनले विगतमा स्वास्थ्य क्षेत्रमा रहेका बेथिति, विसंगति र विकृतिलाई निर्मूल पारेर सर्वसाधारणको सहज पहुँच हुनेगरी आधारभूत स्वास्थ्यसेवा र विशेषज्ञ स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थाहरूको विस्तार, स्तरोन्नति र गुणस्तरवृद्धि तथा प्रदेशभरिमै पूर्ण सुरक्षित मातृत्व, पूर्ण खोप, कुपोषणमुक्त, गरिबीका कारण स्वास्थ्य उपचार गराउन नसक्ने जनताको निःशुल्क उपचार, प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरवृद्धि गर्न प्रदेश सरकार बाट एमबिबिएस जनशक्ति प्रदान, प्रादेशिक अस्पतालहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक उपकरण, विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरूको भर्ना, वित्तीय व्यवस्थापन सुधारयोजना आदि अघि बढाइएको पत्रमा थपेका छन् ।

पत्रमा उनले प्रादेशिक अस्पताल सिरहा, सिरहा १५० शय्या, प्रादेशिक अस्पताल लहान, सिरहा १०० शय्या, प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरी १०० शय्या, प्रादेशिक अस्पताल मलंगवा, सर्लाही १०० शय्या, प्रादेशिक अस्पताल गौर, रौतहट १०० शय्या, प्रादेशिक अस्पताल कलैया, बारा १०० शय्या र भारदह, डुमरिया, बरहथवा, आमा तथा बाल अस्पताल धनकौल, पोखरिया गरी पाँचवटा अस्पताललाई नयाँ ५० शय्याको अस्पताल सञ्चालन गर्ने तथा मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठान जनकपुरलाई विशिष्ट श्रेणीको अस्पताल बनाउन एमआरआई, क्याथल्याब, मोडुलर ओटी, कार्डियाक युनिट, बर्न युनिट, न्युरो युनिट तथा तथा छुट्टै क्यान्सर अस्पताल निर्माणका लागि प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको समेत उल्लेख गरेका छन् ।

ध्यानाकर्षणपत्रमा स्वास्थ्य बिमा, कुष्ठरोग उन्मूलनका लागि पिइपी र अनुसन्धान कार्य प्रभावकारी सञ्चालन, जेनरल बेड फ्रि, १३६ वटै पालिकामा जनस्वास्थ्य प्रयोगशाला व्यवस्थित सञ्चालन र ज्येष्ठ नागरिक, अतिविपन्न नागरिकलाई प्रयोगशालाबाट स्वास्थ्य परीक्षणमा ९०% शुल्क छुट, प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालमा ब्लड बैंक र डायलासिस सेवा सञ्चालन, क्षयरोग एमडिआरजस्ता घातक रोगलाई न्यूनीकरण गर्न घुम्ती स्वास्थ्य परीक्षण भ्यान सञ्चालन आदि कार्यक्रम विगतमा रहेको मन्त्री सिँहले जनाएका छन् ।

प्रदेशलाई कुपोषणमुक्त घोषणा गर्ने प्रक्रियाअन्तर्गत पोषण कार्यक्रम, मुसहर पोषण कार्यक्रम, पूर्ण खोप घोषणा कार्यक्रम तीव्रताका साथ सञ्चालन भइरहेको भन्दै मन्त्री सिँहले पत्रमा स्वास्थ्य आपतकालीन केन्द्र र एम्बुलेन्स डिस्प्याच केन्द्र सञ्चालन, सर्लाही र पर्सामा १० बेडको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन प्रक्रिया अगाडि बढेको जनाएका छन् ।

सिरहा र सर्लाही जिल्लाका प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिद र जडान प्रक्रिया अगाडि बढाइएको, आठवटा जिल्लाअन्तर्गत ५६ ठाउँमा नागरिक आरोग्य केन्द्र स्थापना र सञ्चालन, प्रदेशस्तरीय टिबी अस्पतालको विस्तृत परियोजना प्रतिवेदन तयार, प्रदेशस्तरमा नयाँ प्रविधिसहितको ब्लड बैंक सेवाको सुदृढीकरण र आधुनिकीकरण, सुरक्षित गर्भपतन सेवा कार्यक्रम निर्देशिका तर्जुमा, प्रदेशस्तरीय आपतकालीन पोषण प्रक्रिया तयार, प्रदेशस्तरीय स्मार्ट पोषणको सर्वेक्षण सम्पन्नता, अस्पतालहरूलाई दैनिक निरीक्षण अवलोकन टोली गठन, विभिन्न अस्पतालको भौतिक निर्माणका लागि बजेट सुनिश्चितता र लागत अनुमान भई खरिद प्रक्रिया लगायतका कार्य अघि बढाइएको पत्रमा जनाइएका छन् ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH