साझा जिम्मेवारी र संयुक्त अभ्यासबाट मात्र विपत् व्यवस्थापन सम्भव : मन्त्री लेखी

टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ चैत ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न प्रदेश सरकारले आवश्यक नीतिगत व्यवस्था तथा अभ्यासमा जोड दिइरहेको बताएका छन् ।
बिहीबार सर्लाहीको मलंगवामा आयोजित प्रदेशस्तरीय संयुक्त विपत् अभ्यास कार्यक्रममा उनले विपत् व्यवस्थापन साझा जिम्मेवारी र संयुक्त प्रयासबाट मात्र सम्भव भएको बताउँदै यसका लागि सरकारी संयन्त्र, गैरसरकारी तथा निजी क्षेत्र, समुदाय र नागरिक स्वयं संवेदनशील हुनुपर्ने उल्लेख गरे ।
विपत् अभ्यास कार्यक्रमअन्तर्गत विपत् व्यवस्थापनका सरोकारवाला संयन्त्र एवम् संस्थाद्वारा आयोजित अग्निनियन्त्रण अभ्यास कार्यक्रममा मन्त्री लेखीले अग्नि बरदान र अभिशाप दुवै भएको भन्दै अनियन्त्रित अग्निले ध्वंश मच्चाउने भएकाले जीवजगतलाई सम्भावित अग्निप्रकोपबाट बचाउन पूर्वतयारीका साथै अग्निशमन अभ्यासमा दक्षता जरुरी रहेको औंल्याए ।
मन्त्री लेखीले नेपालमा प्राकृतिकभन्दा मानवीय कारणले अग्निसम्बद्ध विपत् आइपर्ने हुँदा अग्निप्रयोगमा सतर्कता अपनाउनुपर्ने बताए ।
अग्निनियन्त्रण अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सर्लाहीका विभिन्न पालिका, डिभिजन वन कार्यालय, रेडक्रसलगायत विपत् व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका कर्मीहरूको सहभागिता रहेको थियो ।
मन्त्री लेखीले आजै नवलपुरस्थित इलाका प्रहरी कार्यलय र लालबन्दीको फुलझोर चौकीको निरीक्षण गरेका छन् ।
निरीक्षणमा सुरक्षा निकायका उच्चाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।