‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत विद्यालय एवम् छात्रावास भवन निर्माण
रासस
काठमाडौँ, २३ चैत । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा तीन करोड ६१ लाख रुपैयाँको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवन निर्माण भएको छ ।
बिहीबार रावाबेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले ती भवनको संयुक्त रूपमा उद्घाटन गरे ।
दुईतले विद्यालय र छात्रावास भवनका लागि आवश्यक फर्निचरको व्यवस्था पनि भारत सरकारले नै गरेको दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।
विद्यालय र छात्रावास भवन निर्माण परियोजना जिल्ला समन्वय समिति खोटाङसँगको समन्वयमा कार्यान्वयन गरिएको हो ।
सन् १९५२ मा स्थापना भएको शारदा माध्यमिक विद्यालयमा कक्षा १ देखि ‘प्लस टु’ तहसम्म पठनपाठन हुँदैआएको छ । यो विद्यालयमा अध्ययनरत तीन सय ६५ विद्यार्थीमध्ये ५०% छात्रा छन् । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा भारतीय दूतावासका पाँच सय ५० वटाभन्दा बढी सामुदायिक विकास परियोजना सञ्चालन भएकामा चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ ।
भारत सरकारको अनुदान सहयोगमा हाल कोसी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना सञ्चालन भइरहेका छन् ।