सदस्यता टुंगो लगाएर अधिवेशन गर्न युनियनको आग्रह
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ चैत । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियान थाँती राखेर जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा नेपाल प्रेस युनियन धनुषा शाखाले आपत्ति प्रकट गरेको छ ।
युनियन धनुषाका अध्यक्ष राजनकुमार सिँह नेतृत्वको टोलीले महासंघ धनुषाका अध्यक्ष मनिका झालाई भेटी सदस्यता शुद्धीकरण अभियान ओझेलमा पर्नेगरी भएको सो घोषणा अनुपयुक्त रहेको भन्दै सदस्यताको टुंगो नलगाइकन जिल्ला अधिवेशन नगर्न अध्यक्ष झालाई सुझाएको छ ।
युनियन अध्यक्ष सिँहले युनियनको हालै इटहरीमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सदस्यता टुंगो नलगाई महासंघको जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन नगर्न गरेको मागसम्बन्धी निर्णय उल्लिखित ज्ञापनपत्र महासंघ अध्यक्ष झालाई बुझाउँदै जिल्लामा साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका छन् ।
युनियनको मागविपरीत अधिवेशन÷साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडि बढाइएमा सोबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ धनुषा शाखा नै हुने ज्ञापनपत्रमा उल्लेख छ ।
युनियनले भने महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा पूर्ण साथ र सहयोग रहने पनि जनाएको छ ।