स्थानीय तहको परिषद् बैठकमा प्रदेशसभा सदस्यलाई सहभागी गराउन आग्रह

२०८० चैत्र २३, शुक्रबार १६:०२

टोलपडोस समाचारदाता

जनकपुरधाम, चैत २३ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र संघीयता सबल हुने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश र नेपाल कानुन समाजको संयुक्त आयोजनामा शुक्रबार जनकपुरधाममा आयोजित प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले सो कुरा बताएका हुन् ।

नेपालको संविधानले तीन तहका सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तहबीचको समन्वयको व्याख्या नभएकाले संघीयता नै कमजोर भइरहेकाले संघीयतालाई बलियो पार्न स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गर्नुको विकल्प नरहेको बताए ।

संघीयता मधेशलाई नै चाहिएको उल्लेख गर्दै उनले स्थानीय तह र प्रदेश सरकारलाई एकजुट भएर अघि बढनुपर्ने उल्लेख गरे ।

स्थानीय तह परिषद् बैठकमा समेत प्रदेशसभा सदस्यलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराइए स्थानीय तहलाई फाइदा नै पुग्ने बताए ।

संघीयताले मधेशका गाँउगाँउसम्म विकासको अनुभव गराएको दाबी गर्दै मुख्यमन्त्री यादवले विगतका राजतन्त्रदेखि प्रजातन्त्रसम्म मधेशले भोगेको हविगत सबैसामु छर्लङ्ग रहेको बताए ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मधेशमा निर्माण भएका कानुन कार्यान्वयनको अवस्था र चुनौती तथा नेपाल कानुन समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यले प्रदेश र स्थानीय तहको समन्वयको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका पूर्वसभापति पर्शुराममेघी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृहमन्त्री राजकुमार लेखीसहितका आआफना धारणा व्यक्त गरे ।

कार्यक्रममा मधेश सरकरका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, मधेश प्रदेशसभाका सभासदहरू, गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH