वन प्राविधिक संघमा कर्ण नेतृत्वमा प्रजातान्त्रिक समूहको वर्चस्वकारी विजय

२०८० चैत्र २५, आईतवार ०८:०८

चोइटिएको मधेशका लागि वनबाट सुजितकुमार झा उपाध्यक्ष निर्वाचित

नेपाल वन प्राविधिक संघका अध्यक्षमा निर्वाचित राकेश कर्ण ।

टोलपडोस समाचारदाता
जनकपुरधाम, २५ गते । नेपाल वन प्राविधिक संघका अध्यक्षमा प्रजातान्त्रिक समूहका राकेश कर्ण विजयी भएका छन् । नेपाली काँग्रेसनिकट प्रजातान्त्रिक वन प्राविधिक संघ (डिफान), मधेशकेन्द्रित दलका शुभेच्छुक मधेशका लागि वन र नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जालका संयुक्त उम्मेदवार कर्ण एक हजार दुई सय ६१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् ।

आइतबार बिहान सम्पन्न मतगणना परिणामअनुसार अध्यक्ष पदका अर्का प्रतिस्पर्धी प्रगतिशील समूहका विजयराज पौडेलले आठ सय ६८ मत प्राप्त गरेका छन् । प्रगतिशील समूहमा नेकपा एमालेनिकट प्रगतिशील वन प्राविधिक संघ नेपाल र मधेशका लागि वनबाट चोइटिएको भुवनेश्वरप्रसाद चौधरी समूहले संयुक्त रूपमा उम्मेदवारी दिएका थिए ।

अन्तिम मतपरिणामअनुसार उपाध्यक्ष पदमा दुई मतले सुजितकुमार झा विजयी भएका छन् । प्रगतिशील समूहबाट विजयी भएका उनी एकमात्र उम्मेदवार हुन् । मधेशका लागि वनको चोइटिएको समूहका झाले एक हजार २८ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका उपाध्यक्ष उम्मेदवार अमरदेव प्रसाद यादवले एक हजार २६ मत हासिल गरेका छन् ।

संघका महिला महासचिवमा मन्जु घिमिरेलाई पराजित गर्दै सुनिता उलक विजयी भएकी छिन् । उलकले एक हजार एक सय ६५ मत प्राप्त गर्दा घिमिरेले नौ सय ५८ मत पाएकी छिन् ।

महासचिवमा गोविन्दप्रसाद दाहाल विजयी भएका छन् । दाहालले एक हजार एक सय ८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अजयविकास मानन्धरले नौ सय १६ मत हासिल गरेका छन् ।

महिला सचिवमा श्रृजना श्रेष्ठ विजयी भएकी छिन् । श्रेष्ठले एक हजार एक सय ५४ मत ल्याउँदा सोही पदकी प्रतिस्पर्धी करुणा कार्कीले नौ सय ६३ मत पाएकी छिन् ।

सचिव पदमा सुदीप छत्कुली विजयी भएका छन् । छत्कुलीले एक हजार दुई सय ६५ मत प्राप्त गरेका छन् । सचिव पदका अर्का उम्मेदवार शैलेश चौधरीले आठ सय ६५ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्ष पदमा सुजिताकुमारी राउतले एक हजार एक सय ८९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मणप्रसाद पौडेलले नौ सय १७ मत हासिल गरेका छन् ।

त्यस्तै सदस्यमा सुभाषचन्द्र शर्मा(११३९), प्रकाशराज रेग्मी(११५६), निरजबाबु भट्ट(११७१) र प्रशासन सापकोटा(१०८२) विजयी भएका छन् । यसैगरी महिला सदस्यमा पुष्पाकुमारी मिश्रा(१०४८), सृजना श्रेष्ठ(११६८) र राधिका शर्मा(१०३२) जितेका छन् ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH