जनकपुरधाममा मनाइयो विश्व स्वास्थ्य दिवस
टोलपडोस समाचारदाता
जनकपुरधाम, २५ चैत । मेरो स्वास्थ्य मेरो अधिकार भन्ने नाराका साथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार विश्व स्वास्थ्य दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठन स्थापना भएको दिन अर्थात् ७ अप्रिलका दिन विश्वभर विश्व स्वास्थ्य दिवस मनाउने गरिएको छ ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले आइतबार बिहान जनचेतनामूलक प्रभातफेरी आयोजना गरेको छ । स्थानीय बाह्रबिघाबाट आरम्भ भएको प्रभातफेरी जानकीचोक, जनकचोक, शिवचोक, भानुचोक हुँदै रेल्वे स्टेसन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.रामनरेश पण्डितले स्वास्थ्य सेवा र तिनका सार्वजनिक तथा निजी विकल्पका बारेमा जान्ने सबैको अधिकार रहेको भन्दै उपचारका विकल्पहरू, सम्भावित फाइदा तथा जोखिम र खर्चका बारेमा बुझ्ने नागरिक अधिकार सुनिश्चित हुनुपर्ने बताए ।
मधेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजीव झाले स्वास्थ्य उपचारक्रममा भएका गल्तीबारे जान्ने बिरामीको अधिकार भएको बताउँदै बिरामीका चिन्ता खुलेर र उचित समयमा सम्बोधन गरिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा.श्रवण मिश्र, मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखाका प्रमुख डा.इन्द्रजीत प्रसाद रजक, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख सुनिता गुप्ता, विश्व स्वास्थ्य संगठनका प्रादेशिक संयोजक रमेशकुमार यादवलगायतले स्वास्थ्यसम्बन्धी अधिकारका बारेमा आआफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेशस्थित विभिन्न मन्त्रालय, नीति तथा योजना आयोग, प्रदेश प्रमुख कार्यालय, प्रदेशसभा सचिवालय, अनुसन्धान, विभिन्न निर्देशनालय, जनस्वास्थ्य प्रयोगशाला, जनकपुर उपमहानगरपालिका, प्रतिष्ठान, स्वास्थ्य कार्यालय धनुषा र महोत्तरी, विकास साझेदार संस्थाहरू, नर्सिंग क्याम्पसका विद्यार्थी, सञ्चारकर्मी, नागरिक समाज, योगसाधना केन्द्रहरूका कर्मचारी तथा प्रतिनिधि सहभागी थिए ।
सहभागीलाई दिवसको लोगोअंकित करिब तीन सयद भेस्ट वितरण गरिएको थियो ।