हाकिम कर्णले सरकारी गाडी र इन्धनको चरम दुरुपयोग गरेको आरोप
टोलपडोस समाचारदाता
जनकपुरधाम, २८ चैत । महोत्तरीका औरही नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र लाल कर्णले कार्यालय प्रयोजनका लागि प्राप्त गरेको सवारीसाधन तथा इन्धनको सुविधा जनकपुरधामस्थित घरमा दैनिक आउजाउ गर्न प्रयोग गरिरहेका छन् ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेकाले शिक्षातर्फका आठौं तहका अधिकृत कर्णले मासिक एक सय ५० लिटर पेट्रोल र पाँच लिटर मोबिल सुविधा पाउने गरेका छन् । सामान्यतया इन्धनसहित सवारीसाधनको प्रयोग कार्यालय प्रमुखले कार्यालय प्रयोजनका लागि प्रयोग गर्नुपर्ने हुन्छ । तर, निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएको सुविधा सीमाभन्दा निकै बढी इन्धन प्रयोग गर्नेगरेको औरही नगरपालिकाका प्रमुख प्रदीप खडकाले बताए ।
छोटो दुरी प्रयोग गर्दा औरही नगरपालिकाबाट जनकपुरधामस्थित निमित्त प्रशासकीय अधिकृत कर्णको घर आउजाउ गर्न कम्तीमा ६० किलोमिटर पर्दछ ।
उनले महोत्तरीको औरहीबाट धनुषाको जनकपुरधामस्थित घरसम्म आउनजान मात्र नभएर ससुरालीको भोज खानसमेत प्रमुख प्रशासकीय अधिकृतहरूले सरकारी सवारीसाधनसहित इन्धन प्रयोग गरिरहेको बेथिति रहेको गुनासो गरे । उनले भने, ‘निमित्त प्रशासकीय अधिकृत कर्णले तीन सय लिटरभन्दा बढी इन्धन एक्लैले उपभोग गरिरहेका छन् ।’
निमित्त प्रमुख प्रशासकीय अधिकृतले गरिरहेको इन्धनको दुरुपयोग आफूले रोक्न नसकेको पनि प्रमुख खडकाले बताए । उनले भने, ‘कार्यालयको संशाधनमा हाकिमको अधिकार हुन्छ । जुनसुकै कामका लागि मनलाग्दी इन्धन लिए पनि त्यसलाई रोक्न कठिन छ ।’
स्थानीय तहका लागि प्रमुख प्रशासकीय अधिकृत महत्वपूर्ण जिम्मेवारी हो । यो जिम्मेवारीमा रहनेको बसोबास सम्बन्धित नगरपालिकामै रहने अपेक्षा गरिन्छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव स्तरको कर्मचारी रहने व्यवस्था छ । त्यसअनुसार औरही नगरपालिकाले केही समयअघिसम्म प्रमुख प्रशाकीय अधिकृतका लागि आवासको प्रबन्ध नै गरेको थियो । तर, प्रमुख प्रशासकीय अधिकृतका रूपमा पटकपटक कनिष्ठ कर्मचारी निमित्त हुन थालेपछि आवास हटाइएको छ ।
पटकपटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्ण भने जनकपुरधामस्थित घरबाटै ओहोरदोहोर गर्ने भएकाले नगरपालिका क्षेत्रभित्र आवासका लागि रुचि देखाएका छैनन् । नगरपालिकाले उपलब्ध गराउने भाडाका चारपाङ्ग्रे सवारीसाधन र इन्धन प्रयोग गरी कोसौं टाढा रहेको घरसम्म नै आउनजान मिल्ने भएपछि उनले औरहीमा बस्न अरुचि देखाएको नगरपालिकाका एक कर्मचारीले बताए ।
कार्यालय प्रमुखका रूपमा प्राप्त गर्ने सवारीसाधन र इन्धनको उपयोग कानुनीभन्दा पनि नैतिक प्रश्नसँग जोडिएको एक प्रशासनविद्ले बताए । ‘कार्यालय प्रमुखले निर्धारित इन्धनभन्दा बढी माग फारमका आधारमा इन्धन लिन मिल्छ । तर, त्यसको औचित्य पुष्टि हुनुपर्छ । घर आउजाउका लागि इन्धन लिने काम कानुनी रूपमा दण्डनीय भएको परिभाषित नभए पनि यो घोर अनैतिक काम भने हो,’ उनले भने ।
निमित्त प्रशासकीय अधिकृत कर्ण केही समययता थरीथरीका चारपाङ्गे सवारीसाधन प्रयोग गरेर कार्यालय जान थालेका छन् । प्रमुख प्रशासकीय अधिकृतका लागि नगरपालिकाले भाडामा लिएको सवारीसाधन धनीले फिर्ता लगेको र नयाँ सवारीसाधनको करार नभएकाले उनले फरकफरक सवारीसाधन प्रयोग गरिरहेका पालिकाका एक कर्मचारीले बताए ।
प्रमुख प्रशासकीय अधिकृतका लागि भाडाका सवारीसाधन सम्बन्धी करार सम्झौता नभएकाले गत चैत १ गते यता निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णले चढ्ने गाडीलाई पुरानै मितिमा भाडा सम्झौता गर्न खोजिएको ती कर्मचारीले जानकारी दिए ।
यस विषयमा थप बुझ्न निमित्त प्रशासकीय अधिकृत कर्णलाई मोबाइल फोनमा सम्पर्क गर्न खोज्दा कल उठेन ।